आईसीसीले पठायाे नेपाली क्रिकेट खेलाडीको तलब



काठमाण्डौं : सन् २०१६ देखि रोकिएको नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । आईसीसीले शनिबार राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । 

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले लामो समयदेखि तलब पाएका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटकसम्म पहल गरेको थियो । सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आईसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले २५ हजार तथा ‘सी’ श्रेणीका खेलाडीले १५ हजार रुपैयाँ पाउने भएका छन् । 

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपका प्रेस सल्लाहकार दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्