सिरहामा राहतको विषयमा विवाद : ४ राउण्ड दंगी फायर र १३ राउण्ड अश्रुग्यास प्रहार



डिएसपीसहित पाँच जना घाइते

जनकपुरधाम : प्रदेश २ को सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड दंगी फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर-७ स्थित फूलबरीयामा वडाध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि राहत लिन पुगेकाहरुले ढुंगामुढा गर्न थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीलाई दंगी फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए।

यता लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नहरुलाई कुनै वास्ता नगरी वडाध्यक्षले आफ्ना नजिकी व्यक्तिलाई राहत बाँडेको भन्दै विवाद भएको एक प्रत्यक्षदर्शीले बताए।

झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवाल सहित पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घाइतेहरुको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्