पार्टीको अन्तरिम विधान अनुसार अगाडी बढ्नु पर्छ: प्रभु साह



काठमाडौं: तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सञ्चालन विधि र पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्नहरु उठ्ने गरेको छ ।

फरक-फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता एकीकृत विचार, संगठन र नेतृत्व निर्माणको संक्रमणकालीन अवस्थामा रहेको छ ।

संक्रमणकालीन अवस्था आफैँमा संवेदनशील एवं विशिष्ट अवस्था हो । यस्तो अवस्थामा संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन त्यसको लागि विशिष्ट चरित्र अनुरुपको विधि र पद्धति अवलम्बन गर्नुपर्ने नेकपाका नेता प्रभु साहको भनाई छ ।

संगठनमा विवादको चुरो एकथरी नेताले नेकपा एउटा पार्टी भइसकेकोले विगतदेखि अभ्यास गर्दै आएको अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर र अर्को, नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग-अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकोले तत्काल पार्टी संचालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै सही र वस्तुवादी भन्ने पक्षधर रहेको छ ।

पार्टीभित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मुल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटीलगायत संसदीय दलमासमेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिरहेका छन् ।

जुन आम जनभावना तथा पार्टी एकताको मुल मर्म र भावना विपरीत हो । यसमा अब बस्न लागेको पार्टी स्थायी कमिटीका सम्पूर्ण सदस्यहरूको विशेष ध्यान जानुपर्ने साहको भनाई छ । अहिले अन्तरिम विधानको परिकल्पनालाई आत्मसात गर्दै आपसी सद्भाव, समझदारी एवं सहमतिबाट अगाडि बढ्नु नै उचित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्