चोरी गर्न बैंकको एटीएम बुथ फुटाउने पक्राउ



धनगढी: बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नं.१ मालुमेला घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का हुन् ।

प्रहरीका अनुसार वैशाख १७ गते राति कैलालीको अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको थियो । बुथमा रहेको सीसीटीभी क्यामेराले क्याप्चर गरेको फुटेज अध्ययन गर्ने क्रममा पैसा लुट्ने उद्देश्यले कसैले एटीएममा तोडफोड गरेको देखियो ।

सीसीटीभी फुटेजकै आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले एटीएम तोडफोड गर्ने कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । उनलाई सोमबार कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्