पैसाको लोभमा जानकी मन्दिर राजनीतिको अखाडा! स्वघोषित छोटा महन्थ रामरोशन दासमाथि विश्वासघातको आरोप



जनकपुरधाम- विश्वका करोडौं हिन्दू धर्मलम्बीहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मंगलबार साँझ एक रेडियोलाई अन्तर्वार्ता दिएसँगै अहिले माहोल चर्किएको छ ।

आफ्नो एउटा सामान्य चेला सरह रहेको रामरोशन दासले आफुलाई अघोषित रुपमा छोटा महन्थ घोषणा गरेको महन्थ दासले जिकिर गरेका छन् । उनले भने– ‘रोशन दास यस मन्दिरको उत्तराधिकारी अथवा छोटा महन्थ केहि छैनन् । उनी एउटा सामान्य बैरागी चेला हुन् । उनी जस्ता आफ्नो १२÷१४ जना अन्य चेलाहरु पनि छन् । तिनीहरु मध्ये कोहि चित्रकुट,कोहि बर्साना त कोहि अयोध्या लगायतका ठाउँहरुमा बसिरहेका छन् ।’

आफु केहि महिना अस्वस्थ भएको बेला रोशनलाई सामान्य रुपमा मन्दिरको काम आफुलाई जानकारी गराएर सञ्चालन गर्ने जिम्मेवारी दिएपछि रोशनले आफुसँग विश्वासघात गरेको उनको आरोप छ ।

जानकी नवमी र विवाहपञ्चमीमा पैसा असुल्नकै लागि आफुलाई कुनै जानकारी नै नदिई एउटा समिति बनाएर कुनै बैंकमा खाता सञ्चालन गरि केन्द्र सरकार,प्रदेश सरकार र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदसँग रोशनले करोडौं रुपैयाँ असुल गरेको महन्थ दासको आरोप छ ।

रोशनले मेरो अनुमति बिना नै सबै काम आफ्नै ईच्छाले गर्छ उनले भने– ‘मलाई त उसले कोसँग कति पैसा लिन्छ त्यसको कुनै जानकारी नै हुँदैन । प्रदेश र केन्द्र सरकारका साथै वृहत्तरसँग पनि उसले पैसा मागेर ल्याउँछ तर ति पैसाहरुको कुनै लेखाजोखा हुँदैन जबकि विवाहपञ्चमी,जानकी नवमी लगायतका पर्वहरुमा भारतको मुम्बईका आफ्नो एकजना चेला पवन चौधरीले विगतदेखि नै सबै खर्च तिर्दै आएका छन् ।’

उनले रोशनले यी सबै पैसाको हिनामिना गर्दैआएको दाबी गरे । आफुले अहिलेसम्म कुनै कामका लागि कसैसँग एकसुको पनि मागेको छुईन तर रोशनलाई तिमी किन अरुसँग पैसा उठाउँछौं भनेर प्रश्न गर्दा उसले आफुलाई धम्क्याउँदै आएको उनको आरोप छ ।

रोशनले जानकी मन्दिरको सभ्यता र मर्यादालाई हनन गरिरहेको आरोप लगाउँदै महन्थ दासले भने– ‘उसले आफुले आफैलाई उत्तराधिकारी महन्थ घोषणा गरेको हो । मैले औपचारिक रुपमा उसलाई कुनै पद दिएको छुईन ।’

रोशनले पैसाको लोभमा जानकी मन्दिरलाई राजनीतिको अखाडा बनाएको दाबी गर्दै महन्थ दासले विवाहपञ्चमीमा कुनै भिभिआईपीलाई बोलाउँदा आफुलाई कुनै किसिमको पूर्व जानकारी नरहेको बताए ।

उनले जानकी मन्दिरको सम्पूर्ण भार स्वयं बहन गर्न तयार रहेको बेलामा रोशनले किन अरुसँग हात फैलाउनुपर्यो भनेर प्रश्न समेत गरे ।

उसलाई सञ्चालन गर्ने जिम्मेवारी मात्र दिइएको हो,सर्वाधिकार दिइएको होइन’– उनले भने– ‘मन्दिरको नाममा असुल गरिएको पैसा कहाँ गयो ? कुन बैंकमा खाता छ ? कसको नामले चेक काटियो ? खर्च कहाँ कुन शिर्षकमा गरियो ? यी सबै बिषयमा पत्रकार सम्मेलन गरेर रोशनले सबैलाई जानकारी गराउनुपर्छ,नत्र उसलाई यहाँबाट चाँडै हट्नुपर्छ ।’

उनले प्रश्न गर्दै भने– ‘आम्दानी के आउँछ त्यसको कुनै अत्तोपत्तो हुँदैन तर खर्चका लागि रामतपेश्वर दास ? रोशनलाई प्रदेश सरकार,केन्द्र सरकार र वृहत्तरसँग लिएको पैसा फिर्ता गर्न भनिसकेको छु । फिर्ता गरेन भने कानूनी प्रक्रियामा जान्छु ।’

रोशनले मन्दिरमा आएका सबै आम्दानी खातामा जम्मा गरेर कोषाध्यक्षसँग मिलेर गायब गर्दै आएको बताउँदै खाताको स्टेटमेन्ट माग्दा उसले आनाकानी गरिरहेको महन्थ दासले बताए ।

‘मलाई त उसले तपाईं मलाई महन्थ बनाईदिनुस भनेर पटक पटक दवाव र धम्की समेत दिइरहेको छ’– उनले भने– ‘तर जब २०३३ को संविधानमा कत्तै छोटा महन्थको प्रचलन नै छैन् भने मैले उसलाई महन्थ घोषणा गर्ने कुरै आएन् ।’

आफ्नो गुरुको पालामा जब मैले आफुलाई छोटा महन्थ भनिन् भने रोशन आफुले आफैलाई कसरी छोटा महन्थ भन्छ ? उनको प्रश्न थियो ।

उनले भने– ‘मन्दिरमा पूजापाठ,भोगराज सबै बन्द हुन्छ तर रोशनको कक्षमा मनोरञ्जनात्मक कार्यक्रम चलिरहन्छ । यहि हो र एउटा सञ्चालकको कर्तव्य ?’

जानकी मन्दिर गुठी संस्थानको सम्पत्ती रहेकोले यसको सम्पूर्ण अधिकार गुठीकै मातहतमा रहेको र आफुले रोशनलाई महन्थ बनाउन नपाउने कानूनी आधार पनि रहेको उनले बताए । आफु मरेपछि मन्दिरको महन्थ कसलाई बनाउने भन्ने अधिकार गुठी र यहाँको समाजको रहेको महन्थ दासले स्पष्ट पारे ।

यता विवाहपञ्चमी र जानकी नवमी लगायतका पर्वहरुमा लाग्ने सम्पूर्ण खर्च आफुले तिर्दै आएको भारतको मुम्बईमा व्यवसाय गर्दै आएका पवन चौधरीले दाबी गरेका छन् ।

उनले भने,’विवाहपञ्चमीमा प्रत्येक बर्ष म ७० देखि ८० लाखसम्म भारतीय रुपैयाँ आफ्नो गोजीबाट खर्च गर्छु । रामतपेश्वर दास मेरो गुरु हुनुहुन्छ र वहाँको आदेशानुसार सेवामा सबै खर्च भक्तिभावले आफ्नो ईच्छा अनुसार गर्छु । ’मलाई मिडियामा आफ्नो नाम आओस त्यसको कुनै सौख र चाहना पनि छैन् । आफु त मात्र गुरुजीको सेवामा समर्पित हुन्छु । गुरुजी (रामतपेश्वर दास वैष्णव )मेरो लागि भगवान समान हुनुहुन्छ । वहाँले जे भन्नुहुन्छ त्यो म जतिबेला पनि गर्न तयार छु ।’

विवाहपञ्चमीका लागि आवश्यक भोजन सामग्री,वस्त्र,सरसजावट,लाईट,साउण्ड,टेन्ट सबैको खर्च आफुले नै प्रत्येक बर्ष व्यहोर्दै आएको चौधरीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्