हुलाकी राजमार्ग निर्माण आंशिक शुरु



काठमाडौं: राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा सडक र पुल निर्माण आंशिकरूपमा शुरु भएको छ ।

लकडाउनका समयमा राजमार्गले छुने अधिकांश जिल्लामा निर्माण शुरु भए पनि जनशक्ति र उपकरण आवश्यकता भन्दा कम भएकाले कामले गति लिएको छैनन् ।

लकडाउनपछिको पहिलो दुई सातासम्म निर्माण ठप्प भएकामा अहिले विभिन्न जिल्लामा शुरु भइरहेको आयोजना निर्देशनालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, कञ्चनपुरलगायत जिल्लामा निर्माण शुरु भएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

विभिन्न जिल्लाका गरी सात पुल निर्माण भइरहेको छ । अहिले सम्भव भएका ठाउँमा काम भइरहेको उनले बताए । उनले भने, “कतिपय जिल्लामा केही दिन पहिले नै निर्माण शुरु भइसकेको छ भने कतिपयमा शुरु हुने क्रममा छ ।” झापादेखि रतुवा सडक निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । मोरङमा मागेभन्दा कम जनशक्ति र उपकरणका लागि पास उपलब्ध भए पनि काम शुरु भइसकेको छ ।

त्यहाँको कानपुरे-रङ्गेली र विराटनगर-रङ्गेली स्थानीयस्तरको काम भइरहेको छ । त्यस्तै सुनसरी, सप्तरी, सिराहा र धनुषामा पनि आंशिकरूपमा काम भइरहेको छ । महोेत्तरीमा जनकपुर-जलेश्वर र जलेश्वर-हल्दी सडक काम अहिले भइरहेको छ । पहिले प्रशासनसँग अनुमति लिएर नै काम शुरु गरिएको भए पनि विभिन्न किसिमका अवरोध आएको प्रमुख बिसुरालले बताए ।

निर्माण भइरहँदा अपरेटर पक्राउ परेसँगै काममा अवरोध भएको थियो । अहिले पुुनः काम शुरु भएको छ । बाराको कलैयामा र पर्सामा पनि सडक निर्माण शुरु भएको छ । कपिलवस्तुमा पनि प्रशासनले अनुमति दिएकाले शुरु गरिने उनले बताए । दाङको लमही कैनावास सडक निर्माण भइरहेको छ । बाँकेमा बजार क्षेत्रभन्दा टाढा पर्ने बगौडा सडक निर्माण भइरहेको छ । कैलाली र कञ्चनपुरमा पनि थोरै काम भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्