सडक मजदुरले ८ महिनादेखि तलब पाएनन्



बैतडी: सडक मजदुर (लेन्थवर्कर) ले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

जिल्लाको पाटन-पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको असोज महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

सो सडकमा काम गर्ने १२ जना मजदुरले तलब नपाउँदा दैनिक छाक टार्न मुस्किल भएको बताएका छन् । वर्षौदेखि आफूहरु सडकमा काम गर्दै आएका तर पाटन पञ्चेश्वर सडक प्रदेश सरकारअन्तर्गत रहेपछि आफूहरुलाई तलब खान मुस्किल भएको मजदुर जयराम भुलले बताए ।

उनले भने, “सडकमै काम गरेर परिवार पाल्ने जोहो गरिरहेको भए पनि पछिल्ला आठ महिनायता तलब नपाउँदा समस्या भएको छ ।” आफूहरुले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन मुस्किल भएको मजदुर लक्ष्मी दमाइले बताए । उनले भने, “तलबबिनै काम गर्नुपर्दा घरपरिवार चलाउन समस्या भएको छ ।” सो सडकमा काम गर्ने लेन्थवर्करहरुलाई तलब खुवाउनका लागि प्रदेश सरकारका मन्त्री, सांसदहरुले आश्वासन दिएका भए पनि उनीहरुले तलब पाउन सकेका छैनन् ।

लेन्थवर्करहरुसँग कुनै सम्झौता नभएको र यो विषयमा मन्त्रालयले पनि केही निर्णय नगरेकाले उनीहरुलाई तलब खुवाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत्प्रसाद जोशीले बताउनुभयो । “यसअघि नै उनीहरुलाई काम नगर्न भनिसकेको छु”, उनले भने, “साउनदेखि असोजसम्मको तलब पनि सो सडकमा काम गरिरहेको निर्माण कम्पनीमार्फत मिलाएको हो ।”

पाटन-पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुको फाइल मन्त्रालयमा पुगेको भए पनि अहिलेसम्म कुनै निर्णय हुनसकेको छैन । वर्षौदेखि सोही सडकमा काम गरिरहेकाले आफूहरुलाई रोजीरोटीबाट नहटाउन लेन्थवर्करले माग गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्