झोलुङ्गे पुलमा तालापछि…



बर्दिया: बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ ।

मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ । याममा बजारसम्म तरकारी पुर्याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ ।

अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया-४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।

एक बिघा ८ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गरेका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताए । सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले व्यापार गर्न पाएका छैनन् ।

मधुवन खुला सिमानासँंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्