लाइसेन्स नभएका व्यक्तिले मापसे गरी एम्बुलेन्स चलाएपछि…



काठमाडौं: एक व्यक्तिले सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ ।

काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ ।

कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । मित्रपार्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा १० च ८५१३ नं.को निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो ।

दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ । यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोकका राजु गिरीको कोठाबाट नगद तथा सुनका गरगहनासहित १ लाख ४३ हजार बराबरको धनमाल चोरी भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्