भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि पर्साको अलौ नाकामा हवाई फायर



पर्सा : पर्सामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । पर्साको अलौ नाकाबाट भारतीय नागरिक प्रवेश गर्न खोजेपछि सीमा क्षेत्र सुरक्षामा खटिएका सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

बिहीबार राति ८ बजेतिर भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न उनीहरुले नेपालतर्फको सीमा सुरक्षार्थ चेकप्वाइन्टमा ढुंगा प्रहार गरेका थिए । त्यही क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेर भीडलाई तितरबितर पारेका सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

त्यसपछि भारतीय सुरक्षाकर्मीले समेत भीडलाई भारततर्फ नै फर्काइदिएको थियो ।

बिहीबार मात्रै बाराको सीमानाकामा पनि भारतीय नागरिकहरुसहित नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो ।

लकडाउनयता मात्रै १३ वटा सीमानाकामा भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।
चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको सुरक्षा निकायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्