सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई २ सय ६३ थान पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान



जनकपुरधाम: सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यका साथ २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री तथा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सेभ द चिल्ड्रेनले व्यक्तिगत सुरक्षा सामग्री तथा अत्यावश्यक स्वास्थ्य सामग्री सामाजिक विकास मन्त्री नवल किशोर साह र मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको प्रर्वद्धनात्मक,निरोधात्मक तथा उपचारात्मक अभियानमा सहयोग पुग्ने बताए ।

उनले विश्वव्यापी महामारीको बेला स्वास्थ्य सामग्रीहरुको अभाव झेलिरहेको प्रदेश सरकारलाई सेभ द चिल्ड्रेनको सहायताले स्वास्थ्य सेवा शुद्धिकरण गर्न र स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणबाट बच्न सहयोग पुर्याउने बताए ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाहरुबाट उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको रहेको दाबी गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनका पुर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डाक्टर अजयकान्तले प्रदेश २ मा कोरोना संक्रमणको बढ्दो संख्या पुष्टी भएसँगै धेरै मानिसहरुमा परिक्षण र उपचारको आवश्यकता भएकाले आफुहरुको प्राथमिकता यस महामारीको नियन्त्रणमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्नु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्