प्रदेश २ मा कोरोना परिक्षण किटको अभाव, बाँकी रहेको मौज्दातले बढीमा २ दिनसम्म धान्ने



जनकपुरधाम: भारतसँग सीमा जोडिएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना परिक्षण गर्ने भिटिएम किटको अभाव भएको छ ।

प्रदेश २ मा हाल कोरोना भाइरस परिक्षण गर्ने भिटिएम किट ५ सय थान मात्रै मौज्दात रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

अहिले भिटिएम किट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर शंकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि किट अभाव हुने आपूर्ति महाशाखाका निर्देशक डाक्टर प्रमोद कुमार यादवले बताए ।

भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो विधि (भिटिएम) पिसिआर किट ५ सय थान मौज्दात हुँदा परिक्षणमा समस्या हुने देखिएको हो । किटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको डा.यादवले बताए । भीटीएम किटको अभाव भएपछि क्वारेन्टाइनमा बसेका कतिपयको समय पुगिसकेपनि रोकेर राखिएको उनले बताए ।

संघीय सरकारले प्रदेश २ का लागि चैत १२ गते ४० थान, वैशाख १३ र २३ गते १÷१ हजार थान गरी जम्मा २ हजार ४० थान भीटीएम किट पठाएको थियो । वैशाख २३ पछि संघीय सरकारले प्रदेश २ लाई भीटीएम किट पठाएको छैन् । प्रदेश २ को लागि न्यूनतम २० देखि २५ हजार भीटीएम किट आवश्यक रहेको बताउँदै निर्देशक यादवले किट खरिद गर्न प्रदेश सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

आरडीटी किट १ सय थान मात्र मौज्दात
प्रदेश २ मा आरडीटी किट पनि जम्मा १ सय थान मात्र मौज्दात रहेकाले यो पनि अपुग भएको उनले बताए । संघिय सरकारले प्रदेश २ लाई चैत २९ गते ५ हजार थान, बैशाख ५ गते २ हजार थान र बैशाख २३ गते १ हजार थान आरडीटी किट पठाएको थियो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी श्रवणकुमार नायकले सबैभन्दा बढी आरडीटी र भीटीएम किट रौतहट, बारा र पर्सा पठाइएको जानकारी दिए ।

तीनवटै जिल्लामा कोरोना संक्रमित फेला परेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भएकोले सबैभन्दा बढी किटहरु तीन जिल्लामा पठाउनु परेको उनले बताए । उनले अहिलेको मौज्दातले बढीमा २ दिनसम्म मात्र धान्नसक्ने जानकारी दिए ।

प्रदेश २ का ८ वटै जिल्लामा अहिलेसम्म ५ हजार ३ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ५ हजार ३ सय ४३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार ४९ जना,सिरहामा ३ सय ४७ जना,सर्लाहीमा १ सय ७० जना,धनुषामा ४ सय ९५,महोत्तरीमा १ सय ७८ जना,रौतहटमा ५ सय ६२,बारामा १ सय ५४ जना र पर्सामा २ हजार ३ सय ९८ जनाको आरडीटी परीक्षण गरिएको छ ।

स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री पनि पर्याप्त छैन
स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री पीपीई,सेनिटाइजर,मास्क, ग्लोब्स,ज्वरो नाप्ने थर्मल गन जस्ता उपकरणहरु समेत यस प्रदेशका १ सय ३६ वटै पालिकाहरुमा पर्याप्त मात्रामा उपलब्ध नरहेको बताइएको छ । यस प्रदेशमा क्वारेन्टाईनस्थलमा रहेका सबैको आरडीटी टेष्ट गर्नुपर्ने भएकाले किट लगायतका अत्यावश्यक सामग्री अभाव हुँदै गएको हो । प्रदेश २ मा अहिलेसम्म २ हजार ७ सय ५३ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

ती मध्ये ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने २ हजार ३ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ५१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ३७ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ३ सय २७ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए । प्रदेश भरिमा अहिले ४ हजार ४ सय ५० जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ६७ बेड क्षमताको आईसोलेसनमा ४५ जना भर्ना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्