मानवीय सेवामा जुटौँ: मुख्यमन्त्री गुरुङ



पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् ।

विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय सेवामा जुटिरहेको रेडक्रस अभियन्तालगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु-स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

उनले सन्देशमा रेडक्रसका आधारभूत सिद्धान्तहरुमा मानवता र मानवीय सेवा पहिलो रहेकाले महामारीविरुद्धको यस लडाइँमा जुटिरहँदा मानवता र मानवीय सेवाको महत्वलाई अझ गहिराइमा पुगेर बुझेको र आत्मसात गरेको महसुुस भएकोे उल्लेख गरे ।

सन्देशमा उनले रेडक्रसजस्तो विशुद्ध मानवीय कार्यमा समर्पित संस्थाका संस्थापक जाँ हेनरी ड्युनालगायत रेडक्रस अभियानका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो ठाउँबाट निष्ठापूर्वक मानव जातिको मुक्ति र सेवामा अविचलित लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सन्देशमा उनले उच्च सम्मान प्रकट गरे ।

मानवीय सेवा र सहायता, मानव जीवन र स्वास्थ्यको रक्षाजस्ता उद्देश्यका साथ सन् १८६३ मा स्थापना गरिएको रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिन मे ८ लाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्