सुदूरपश्चिममा किट अभाव, कोरोनाको परीक्षण ४ दिनदेखि ठप्प



धनगढी: किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा कोरोना परीक्षण ठप्प भएको छ ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमार्फत कोरोना परीक्षण हुँदै आएको थियो । तर, किट सकिएपछि हिजो पनि नमूना परीक्षण हुन सकेन ।

बुधवार ४ जनाको कोरोना परीक्षण भएको थियो । किट अभावकै कारण ४ दिनअघि विभिन्न जिल्लाबाट संकलन गरिएका ५५ जनाको थ्रोट स्वाबको नमूना परीक्षण भएको छैन ।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुन्छ । पीसीआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ ।

किटको अभाव भएपछि सेती प्रादेशिक अस्पतालबाट निको भएर घर फर्केकाहरूकोसमेत पुनः परीक्षण गर्न सकिएको छैन । किट अभावकै कारण नमूना संकलन बन्द गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै आज संघीय सरकारले पठाउने जानकारी आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्