कुखुरा व्यवसायीलाई अनुदान



काठमाडौं: बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ ।

छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि ३ लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
लकडाउनका कारण बजारमा कुखुरा बिक्रीवितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए । पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो ।

अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट-२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए । बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो १४० देखि १८० सम्म रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्