दैलेखको दुई अस्पतालमा स्वास्थ्य सामग्री पुग्यो



दैलेखः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट पचास पिपिई, दुई हजार ५ सय सर्जिकल मास्क, दुई थर्मल गन र बिस लिटर सेनिटाइजर स्वास्थ्य कार्यालय दैलेखमा पठाइएको छ ।

यसअघि पचास गाउन, पाँच पिपिइ र एक थर्मल गन मन्त्रालयबाट दैलेख आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.निरञ्जन पन्तले बताए । कोरोना संक्रमणको त्राससँगै स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री अभाव भएको भन्दै लकडाउन शुरु हुनुभन्दा अगावै मन्त्रालयमा सामान मगाउने काम भएको भए पनि उचित सम्बोधन हुन सकेको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता विष्णु रिजालले मन्त्रालयमा समन्वय गरिदिएपछि स्वास्थ्य कार्यालयमा यी सामग्री आएको बताइएको छ । दैलेखमा पर्याप्त स्वास्थ्य उपकरण नभएको र भारतलगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिनेको संख्या बढ्दो छ ।

पछिल्ला दिनमा उद्धारका नाममा भित्रनेको संख्या पनि धेरै छ । सुरक्षा सामग्रीको तत्काल आवश्यकता महसुस भएपछि नेकपाका केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उपप्रमुख रिजालले दुई साताअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी दैलेखको समस्या सुनाएका थिए ।

स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य कार्यालय दैलेखमा सामान पठाउन सहजीकरण गरेका रिजालले आफूले व्यक्तिगत लगानी र काठमाडौंमा रहेका विभिन्न निकायसँग सहयोग मागेर दैलेख क्षेत्र नं २ स्थित दुल्ल अस्पतालमा छ हजार सर्जिकल मास्क, ५ ज्वरो नाप्ने थर्मल गन, ५ सय सर्जिकल ग्लोब्स, बीस लिटर ह्याण्ड सेनिटाइजरलगायत सामग्री दुल्लुमा पठाएको दुल्लु अस्पतालका डा.पूजा बिसीले जानकारी दिए ।

रिजालले काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री अस्पतालमा आइ पुगेको डा.प्रशान्त चौलागाईले बताए । भैरवी गाउँपालिकाका रिजालले दैलेखका बासिन्दाको स्वास्थ्यो उपचारमा थप प्रभावकारिता होस् र स्वास्थ्यकर्मीलाई जनताको उपचार गर्न सामग्री अभावले समस्या झेल्नु नपरोस् भन्दै सामग्री पठाइएको प्रतिक्रिया दिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्