अनुदानमा हेलम्बुका किसानलाई रासायनिक मल



सिन्धुपाल्चोक: हेलम्बु गाउँपालिकाले किसानलाई गाउँपालिकाको अनुदानमा रासायनिक मल वितरण गर्न शुरू गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबारदेखि हेलम्बु गाउँपालिकाका सबै वडाका किसानले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवश्यकतानुसार अनुदानको रासायनिक मल लिन सक्ने छन् । “अब हिउँद, वर्षा दुवै खेती लगाउने समयमा नियमितरूपमा गाउँपालिकाले आवश्यकतानुसारको रासायनिक मल उपलब्ध गराउने छ”, शेर्पाले भने ।

यसअघि कृषि उत्पादन बढाउन किसानलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भएअनुसार यो मल उपलब्ध गराउन लागेको हो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनी लिमिटेडले तोकेकै दररेटमा हेलम्बुका किसानले मौसमअनुसारको मल पाउने छन् ।
स्थानीय सहकारीमार्फत युरियामल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २ हजार ३०० मा वडा–वडामा वितरण गरिने शेर्पाले बताए । कृषि उत्पादनमा वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पाको भनाइ छ । रासायनिक मलमा अनुदानको अलावा आगामी वर्षदेखि किसानलाई मल, बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पूँजीको समेत व्यवस्थापन गरिदिने उनले बताए ।

गुणस्तरीय कामका लागि दबाब
खाडीचौर-जिरी सडकको एक किलोबाट नेपाल विद्युत् प्राधिकरण जाने सडक कालोपत्रको काम गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । कालोपत्र गर्ने नाममा झारा टार्ने काम मात्र भएको भन्दै स्थानीय प्याराडाइज युवा क्लबको अगुवाइमा स्थानीय युवाहरु गुणस्तरीय कामका लागि सडकमा उत्रिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले केही महिनाअघि यो सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरी सन्तोष निर्माण सेवालाई ठेक्का दिएको थियो । ठेक्का लिएको लामो समयपछि काम शुरु भए पनि गुणस्तरीय काम नभएको भन्दै स्थानीय विरोधमा उत्रिए । “झारा टारेर पैसा सक्ने काम नहोस्, गुणस्तरीय काम हुनुपर्छ भनेका हौँ”, प्याराडाइज युवा क्लबका अध्यक्ष अनुप बस्नेतले भने ।

राजनीतिक दबाबमा गुणस्तरहीन काम हुन नदिने स्थानीय बताउँ छन् । कालोपत्रको काम पाएको सन्तोष निर्माण सेवाका प्रोप्राइटर मिठु बोहोरा भने आफूले गुणस्तरीय काम गर्ने बताए ।
“छारोधुलो उड्छ भनेर मेसिन लगाइएन, पटक-पटक झाडु लगाइएको छ”, बोहोराले भन्नुभयो । कमीकमजोरी भएका ठाउँमा सुधार गर्दै काम अघि बढाइने बोहोरा बताउ छन् ।
असंगठित मजदुरलाई खाद्यान्न सहयोग

जिल्ला समन्वय समितिले २३ असंगठित मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । सुनकोशी गाँउपालिका-७ पाङग्रेटारमा रहेका असङ्गठित २३ मजदुरलाई बिहान-बेलुका छाक टार्नका लागि खाद्यान्न सहयोग गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

उनीहरुलाई एक बोरा चामल, दाल, खानेतेल र नुन वितरण गरिएको जिल्ला समन्वय समितिका नायबसुब्बा बुद्धकुमार श्रेष्ठले बताए । जिल्ला समन्वय समितिले जिल्लामा रहेर काम गरिरहेका र दैनिकी चलाउन असहज भइरहेका असङ्गठित मजदुरलाई खाद्यान्न सहयोग गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्