करिब दुई हजारलाई भोजन



काठमाडौं: रोटरी क्लब अफ काठमाडौं वेस्टलगायत केही समाजसेवीले विपन्न तथा दैनिक मजदुरी गर्ने करिब दुई हजार नागरिकलाई निः शुल्क भोजनको व्यवस्था गरेका छन् ।

कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट समस्यामा परेका ती नागरिकलाई गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध जारी रहेको छ ।

शुरुमा समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रूपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले भोजनको व्यवस्था गरेकामा शुक्रबार त्यस कार्यमा रोटरी क्लब सहभागी भई अपनत्व लिएर १ लाख सहयोग गरेको हो । उक्त क्लबले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने जनाएको छ ।

लकडाउनको अवधिसम्म खानाको व्यवस्था मिलाइएको छ । सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ ।

पछिल्लो दिनमा काठमाडौं महानगरपालिकाका केही वडा, धार्मिक संघ संस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निः शुल्क भोजनको व्यवस्था गरिएको छ । स्थानीय तहले केही खाद्य सामग्री राहतस्वरुप वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको कामपा–१३ का पूर्ववडा अध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्