प्रदेश २ः ३ हजार ५२० जनाको स्वाब संकलन,५ हजार ४४१ को आरडीटी परीक्षण



जनकपुरधाम– प्रदेश २ मा शनिबारसम्म ३ हजार ५ सय २० जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

ती मध्ये ३१ जनाको रिपोर्ट पोजेटिभ छ भने २ हजार ४ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार ७३ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार २४ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ३ सय ९२ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले ४ हजार ५ सय १२ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ९७ बेड क्षमताको आईसोलेसनमा ४५ जना भर्ना रहेको उनले बताए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ४ जना,महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना,सिमरास्थित अस्थायी उपचार कक्षमा ७ जना,सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ जना र पोखरिया अस्पताल पर्सामा २ जना गरि कुल १६ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ४ सय ४१ जनाको आरडीटी परीक्षण गरिएको छ ।
जसमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ४ सय ३१ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस प्रदेशमा ३१ जना संक्रमित मध्ये २ जना उपचार पश्चात नीको भईसकेको र बाँकी २९ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश २ मा सबैभन्दा बढि पर्सा जिल्लामै संक्रमित भेटिएकोले बैशाख २५ गतेदेखि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर(१,२ र ३ लाई शिल गरिएको हो । आज (शनिबार) मात्रै छपकैयामा २ सय ७२ जनाको स्वाब संकलन गरिएको छ भने २८ जनाको ’कन्ट्याक्ट ट्रेसिङ्ग’ सहित ५ सय जनाको स्वाब संकलन गर्ने लक्ष्य अनुरुप तिव्र गतिमा चेकजाँच भइरहेको सचिव घिमिरेले बताए ।

परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाईसमेत परिचालन गरिएको छ ।
टोलीमा मेडिकल डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु सहभागी रहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्