प्रदेश २ मा ठाउँ-ठाउँमा स्वाब संकलन हुँदै



जनकपुरधाम : प्रदेश २ मा ३ हजार ५ सय २० जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

ती मध्ये ३१ जनाको रिपोर्ट पोजेटिभ छ भने २ हजार ५ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार १ सय ३२ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार १ सय ३४ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ४५ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले ४ हजार ६ सय २ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ९७ बेड क्षमताको आईसोलेसनमा ३९ जना भर्ना रहेको उनले बताए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा १ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना, सिमरास्थित अस्थायी उपचार कक्षमा ७ जना र पोखरिया अस्पताल पर्सामा १ जना गरि कुल १० जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ४ सय ५० जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशमा ३१ जना संक्रमित मध्ये २ जना उपचार पश्चात नीको भईसकेको र बाँकी २९ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश २ मा सबैभन्दा बढि पर्सा जिल्लामै संक्रमित भेटिएकोले बैशाख २५ गतेदेखि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १,२ र ३ लाई शिल गरि छपकैयाको जोखिमपूर्ण क्षेत्रमा ’कन्ट्याक्ट ट्रेसिङ्ग’ सहित स्वाब संकलनको काम तिव्र गतिमा भइरहेको सचिव घिमिरेले बताए । बैशाख २६ र २७ गते पर्सा जिल्लाको बिभिन्न स्थानमा गरि ३ सय ८० जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए ।

सप्तरी जिल्लामा समेत ४ सय ८० जना व्यक्तिहरुको पहिचान गरि स्वाब संकलन गर्ने लक्ष्य लिइएको र २ महिनाको अन्तरालमा विदेशबाट आएकाहरुको खोजी गरि १ हजार जनाको स्वाब संकलन गर्नुपर्ने देखिएको छ ।

सिरहाको माडर, विष्णुपुर गाउँपालिकाको गौरिपुर मावि, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकामा स्वाब संकलन भइरहेको छ भने भोली लहान नगरपालिकाको पडरिया, धनगढिमाई नगरपालिकाको कसहा, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाको कर्जन्हा माविमा स्वाब संकलन गर्ने योजना बनाइएको छ ।

धनुषाको १८ वटा स्थानीयतह मध्ये पछिल्लो समय कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, लक्ष्मिनीया गाउँपालिका र मिथिला नगरपालिकामा स्वाब संकलन गरिएको छ भने तत्कालै सबैला नगरपालिका लगायतका क्षेत्रमा स्वाब संकलन गर्ने योजना बनाइएको सचिव घिमिरेले बताए ।

महोत्तरी जिल्लास्थित जलेश्वर नगरपालिकाको राविम क्याम्पसमा रहेको क्वारेन्टाइनमा स्वाब संकलन भइरहेको छ भने स्वाब संकलन गर्नुपर्ने सम्भावित व्यक्तिहरुलाई लक्षित गरि तथ्यांक संकलनको कार्य सञ्चालित रहेको छ ।

सर्लाही जिल्लामा समेत सम्भावित व्यक्तिहरुलाई लक्षित गरि तथ्यांक संकलनको काम जारी रहेको सचिव घिमिरेले बताए । उनले तत्कालै गोडैता नगरपालिकास्थित क्वारेन्टाइनमा स्वाब संकलनको योजना बनाइएको बताए ।

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर–३ स्थित जुद्ध माविमा रहेको क्वारेन्टाइन, राजदेवी नगरपालिका वडा नम्बर–६,यमुनामाई गाउँपालिका वडा नम्बर–४, कटहरिया नगरपालिका वडा नम्बर–५, मौलापुर नगरपालिका वडा नम्बर–६, परोहा नगरपालिका वडा नम्बर–४, गरुडा नगरपालिका वडा नम्बर–४,बौद्धिमाई नगरपालिका वडा नम्बर–८, फतवाविजयपुर नगरपालिका वडा नम्बर–१० र दुर्गाभगवती गाउँपालिका वडा नम्बर–२ मा भर्खरै स्वाब संकलनको कार्य सम्पन्न गरिएको छ ।

बाराको देवताल गाउँपालिका, पचरौता नगरपालिका र सिम्रौनगढ नगरपालिकामा स्वाब संकलनको काम जारी रहेको र आगामी दिनमा यसलाई अझ बढि तिव्रता दिईने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्