यमनमा खाद्यान्न कुहिदै, नागरिकले खान पाएनन् 



एजेन्सी : यमनको युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पठाएको खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्याउन समस्या आएका कारण कुहिने अवस्था आएको यमनका लागि राष्ट्रसंघीय विशेष दूतले सोमबार बताएका छन् । 

त्यसो त यमनमा खाद्यान्न अभावमा लाखौं मानिसले आधा पेट खाएर दिन बिताइरहेको खबरले जो कोहीलाई दुःख लाग्नसक्छ । यमनको पश्चिमी बन्दरगाह सहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा एक महिनाका लागि दशौं लाख मानिसलाई पुग्ने सामान छ । तर उक्त सामान सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ । 

यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले चिन्ता व्यक्त गरे, ‘डब्लुएफपीको खाद्यान्न भण्डार शिविरमा एक महिना ३७ लाख नागरिकलाई पुग्ने खाद्यान्न छ तर यो विगत पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन सकिएको छैन र कुहिने अवस्थामा पुगेको छ ।’ 

‘हाम्रो विचारमा खाद्यान्न सहयोगलाई लक्षित समुदायमा पुर्याउने काम यमनमा द्वन्द्वरत पक्षहरूको हो ।’ 

होडैडा र खाद्यान्न भण्डार सन् २०१४ देखि यमनी हुथी विद्रोही, जसले यमनको ठूलो क्षेत्रलाई कब्जामा लिएका छन्, को हातमा छ । 

विद्रोहीविरूद्ध तत्कालिन सरकार सहाराविहिन बनेपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गरेर राज्य कब्जा हुनबाट सन् २०१५ मा बचाएको थियो । उक्त गठबन्धनले कारबाही तीब्र नपारे पनि यमनबाट फर्केको छैन । 

राष्ट्रसंघले विश्वकै भयावह स्थिति देखेको यमनमा भएको द्वन्द्वका कारण करिक एक करोड यमनी खाद्यान्न अभावबाट गुज्रिरहेका छन् । उनीहरूले चरम खाद्यान्न अभावको सामना गरिरहेका छन् तर खाद्यान्न कुहिने अवस्थामा पुग्नु थप चिन्ताको विषय बनेको छ । 

राष्ट्रसंघ सहयोग कार्यक्रम प्रमुख मार्क लकक तथा यमनका लागि राष्ट्रसंघीय विशेष दूतले सोमबार एक संयुक्त विज्ञप्ति जारी गरी सहयोग आपूर्ति गर्न विद्रोहीलाई बाटो खोलिदिन आग्रह गरेका छन् । 

गत बिहिबार पनि हुथी विद्रोहीलाई नागरिकको समस्यामा जिम्मेवार बन्न र खाद्यान्न कुहुने अवस्थाबाट जोगाउन आग्रह गरे पनि युद्धविराम क्षेत्रको अग्रभाग पार गरेर अघि बढ्न उनीहरूले सहमति दिएका छैनन् । यमनमा सन् २०१५ देखि अहिलेसम्म करिब १० हजार मानिसको द्वन्द्वका क्रममा मृत्यु भएको विश्व खाद्य संगठनको तथ्यांक छ । तर अन्य अधिकारवादी समूहले तथ्यांकभन्दा द्वन्द्वका कारण मृत्यु हुनेको संख्या अत्यधिक रहेको बताउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्