प्रदेश २ मा अपराधिक क्रियाकलापहरु बढ्दै



जनकपुरधाम : एकातर्फ समग्र विश्व कोरोना संक्रमणका कारण आक्रान्त भइरहेको छ भने अर्कोतर्फ प्रदेश २ का जिल्लाहरुमा अपराधिक क्रियाकलापहरुमा वृद्धि भएको छ । यहाँ हत्या, हिंसा, बलात्कार र सार्वजनिक अपराधका क्रियाकलापहरु दैनिक रुपले बढिरहेका छन् । बिगतको तुलनामा गैरकानुनी गतिविधि बढेको एक तथ्यांकले देखाएको छ ।

११ जनाको हत्या

प्रदेश २ मा फागुन ११ गते यता हालसम्म ११ जनाको हत्या भएको छ । पर्सामा ५,महोत्तरीमा २,सप्तरीमा १ ,धनुषामा १,रौतहटमा १ र बारामा १ गरि जम्मा ११ जनाको हत्या भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

भवितव्य ज्यान शीर्षकमा ३२ वटा मुद्दा

यो अवधिमा भवितव्य ज्यान शीर्षकमा ३२ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, फुटकर ज्यान सम्बन्धी ५ वटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषा र बाराका १÷१ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ । डेढ् महिनाको अवधिमा महिला र बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा समेत वृद्धि भएको छ । प्रहरीको तथ्यांकको हिसाबले यस अवधिमा १७ वटा बलात्कार र २ वटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौनदुराचारको घटना भएको बताइएको छ । बलात्कारका सबैभन्दा धेरै बारामा ५ वटा घटना भएका छन् । बारा जिल्लामा जबरजस्ती करणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

५७ जनाले गरे आत्महत्या

लकडाउनको अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ । यी दुई जिल्लामा १०÷१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७÷७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् । ५७ जना मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास भएको छ । धनुषा र सर्लाहीमा ३÷३, पर्सामा २,सप्तरी,रौतहट र बारामा १÷१ जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा समेत दायर भएको छ ।

लागूऔषध कारोवार समेत बढ्यो

सुरक्षाकर्मीलाई छलेर लागूऔषध कारोबार समेत भइरहेको छ । लकडाउनको डेढ महिनाको अवधिमा प्रदेश २ का ८ जिल्लामध्ये ७ जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् । यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २÷२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन् ।

खासगरी मदिराको कारण हिंसा र अपराधका घट्नाहरु समेत बढि देखिने गरेको अधिकारर्मीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्