साउदी युवराज पाकिस्तान आउने



इस्लामावाद : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन् । दुईदिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ मा पाकिस्तानको राजधानी सहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरेका छन् । भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उनले बताए । त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सोमबार नै इस्लामावाद आइसकेको उनलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । 

भ्रमणका क्रममा उनले आर्थिक सहायतसँगै व्यापार र दुईपक्षीय सम्बन्धका बारेमा पनि सम्झौता र छलफल गर्ने जनाइएको छ । अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सबैभन्दा ठूलो हुने बताइएको छ । यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासबारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीबीच छलफल हुने अधिकारीहरुले बताएका छन् । 

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी भ्रमणका क्रममा साउदी अरबका तर्फबाट व्यापार तथा सहयोगसम्बन्धी प्रतिबद्धता व्यक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्