भारी बिसाउन चाहँदैनन् बाघबहादुर


काठमाडौं : भारी बिसाउनुको अर्थ हो हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन । मानिसहरु भन्छन् शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महशुस गर्छन् मानिसहरु ।

तर भारी बिसाउन चाहादैनन् बाघबहादुर । बिसाएर पनि के गर्नु ? दिनहुँ भारी नपाए ६७ वर्षीय बाघबहादुर तामाङको छाकै टर्दैन । त्यसैले उनी भारी बिसाएर बस्ने होइन कि सधैँ भारी बोक्न चाहान्छन् । यो उनको नियति हो । तर अहिले शरीरमा भारी छैन, उनलाई भारी दिने बजार बन्द छ । त्यसैले उनको छाक टर्न छोडेको छ । उनलाई भारी नहुँदा शरीर हल्का भएजस्तो मात्र भएको हो, भोकले भने मन मस्तिष्क सबै गलाएको छ । शरीरले भारी नपाउँदा मनको भारी झन्भन्दा झन् गह्रौँ बन्दै गएको छ । यस्तै छ बाघबहादुर र उहाँका भरिया साथीहरुको जिन्दगी ।
भातका गाँस कपाकप मुखमा हाल्दै थिए, बाघबहादुर । भोको पेटमा परेको भोजनको चरम आनन्दले उनको मुहारै भित्रैदेखि हासेको देखिन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित नवलपुरका तामाङले यति मिठो मुखले भात खाइरहनेको छ कि उनको मुखलेभन्दा शरीरको हाउभाउले नै सुखको सञ्चारका शब्दहरु बोलिरहेको छ ।

जबजब उनको मुखमा गाँस थपिँदै जान्छ तब उनको मुजैमुजा परेको मुहार दिलैदेखि हाँसेको अनुभूति हुन्छ बाहिरबाट देख्नेलाई । ठूलो सपना छैन बाघबहादुरको अहिले । पेटभर खान पाए पुग्छ । शीरमा नाम्लोले थेप्चिएर कच्याककुचुक परेको ढाका टोपी छ, तर बेलाबेलामा यसो सजिरहन्छन् । वर्षौं पुरानो देखिने स्पोर्टस् जुत्ता, ट्राउजर र ज्याकेट छ शरीरमा । गएको शिशिर ऋतुका सायद काठमाडौंका कैयौँ चिसा रात यही कपडाले फाल्यो होला ।

काठमाडौंको जोरपाटीमा वर्षौंदेखि भारी बोक्ने बाघबहादुर लकडाउनका कारण काम नपाएपछि संस्थाले दिएको खानाको भरमै छन् । पाए खाने नत्र कोठामा गएर सुत्ने दैनिकी नै भएको छ उनको । काम नहुँदा अचेल उनको टाउकामा नाम्लाको पुरानो दाग मेटिन खोज्दैछन् । आजभोलि थाप्लोले नाम्लोको डाम पाएको छैन । बाघबहादुरको थाप्लोमा नाम्लो नबसेको डेढ महिनाभन्दा बढी भयो । तर थाप्लोमा नाम्लाको डाम बस्न नपाएको पीडाले उनको मन अहिले उकुसमुकुसमा छ ।

शुक्रबार जोरपाटीमा भेटिएका उनले लकडाउनको फरक अनुभव सुनाए । एक्कासी सबै गतिविधि ठप्प कसरी भयो भनेर उनी शुरुमा त छक्कै परे । विस्तारै साथीभाइसँग बुझ्न थाले । त्यसपछि उनले थाहा भयो काठमाडौंमा त ‘नेपाल बन्द’ भएको रहेछ । साथीभाइसँगको खासखुसले लकडाउन भन्ने त थाहा भएन, उनले विगतमा पनि पटक पटक हुने गरेको नेपाल बन्द मात्र सम्झिए । पहिले पहिलेका नेपालबन्दले जस्तो अहिले पनि उनी अवाक थिए ।

अघिपछि नेपाल बन्द हुँदा बरु केही न केही गतिविधि हुन्थे । यसो थाप्लोमा नाम्लो हाल्न पाइन्थ्यो । तर अहिलेको ‘नेपाल बन्द’ले त उनलाई साह्रै गाह्रो पारेको छ । अनि भन्टन् पहिले पहिले हुने नेपाल बन्द यति लामो समय पनि हुँदैनथ्यो । काम गर्न र खाना खान उनलाई समस्या हुँदैनथ्यो । केही न केही काम पाइन्थ्यो । तर यसपाली जति भौतारिँदा पनि बाघबहादुरले काम पाएनन् । अनि बल्ल अहिलेको बन्द त्यो खालको हैन भन्ने थाहा भयो । अनि बुझेकी यो त महामारीको बन्द पने रहेछ । धेरै वर्षदेखि काठमाडौंको जोरपार्टीमा चामल र कपासको भारी बोकेर यताउता लैजाने काम थालेका उनलाई न अहिलेको महामारी थाहा छ र नत यसबाट कसरी बच्ने भनेर नै कसैले सुनाएको छ ।

अहिले काम कस्तो चल्दैछ ? हाम्रो प्रश्न सुनेपछि निधारमा गाँठो पार्दै जवाफ दिए “के काम पाउनु नि ? पहिले त नेपाल बन्द भयो भन्ने लाग्यो अनि यतिका धेरै दिन लाग्यो किन खुल्दैन भनेँ, यसो साथीहरुलाई बुझेँ, होइन नि योत महामारी पो रहेछ भने । यी बजार यसरी सबै ठप्पै छ, कति भइसक्यो, के काम पाउनु नि ।”

के महामारी रहेछ ? हामीले सोध्यौँ । “खोई मान्छेहरु कहाँकहाँ मर्यो भनेर बन्द गर्या रे भन्छन्, अब यस्तै हो मानिस धेरै स्वार्थी भैगो, आउँछ महामरी पनि ।” उनको जवाफ थियो । त्यसपछि उनले आफ्नो मनको बह पोख्न थाले, “हामीलाई पनि मार्नु मार्यो, काम भएन, दाम पनि भएन, भारी बोक्न पाए त खुशी, नत्र दुःखैदुःख, यही त हो हामी भरियाको जिन्दगी ।”

यतिखेर विश्व नै कोरोनाको कहरमा डुबेको छ । डेढ लाखभन्दा बढीको ज्यान गइसक्यो । लाखौँलाई यो भाइरसको सङ्क्रमणले आक्रमण गरेको छ । कति मृत्युसँग लड्दैछन् । हरेक कामकाज र अर्थतन्त्र डामाडोल छ । गतिविधि चलायमान हुन सकेको छैन । विश्वमा मानवीय क्षति बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने त्रास हामीमा पनि छाएको छ ।

यस्तो विषम परिस्थितिमा बाघबहादुर जस्ता लाखौँ मजदूरको बिचल्ली छ । उनी अहिले ६७ वर्षको भए तर ५० किलोसम्मको भारी बोक्न सक्छन् । यसरी भारी बोक्दा एक भारीको रु ४०÷५० देखि रु १०० सम्म हात पर्थ्यो । दिनमा बढीमा ५÷७ सय कमाई हुन्थ्यो । यसैले छाक टथ्र्यो । अचेल दिनभर भारी बोक्न पाइँदैन ।

मजदूरलाई कमाइ हुँदा बेलुकाको छाक राम्रो र मिठो लाग्छ । भारी बोक्न नपाउँदा खिन्न भएर फर्कनुपर्छ । त्यसैले भारी विसाउने चाहना हुँदैन यस्ता असङ्गठित क्षेत्रका मजदुरलाई । उनले थपे, “समस्या त त्यही हो नेपाल खोलेन, पैसा कमाउन पाएन, अहिले अरुले दिए खाने नत्र भोकै पर्ने भएको छ । अरु त त्यस्तै हो, अब छिटो खुले हुन्थ्यो ।”

बाघबहादुरको झैँ सिन्धुलीका हरिबहादुर माझीका दुःखका दिन पनि यसैगरी बितिरहेको छ । काम नपाउँदा केही दिन भौतारिनुप¥यो । दुई चार दिन पेट भोकै रह्यो । न सडकमा सवारी साधन छन् नत मान्छे । अनि भारी बोक्न पाउने कुरै भएन । भक्तपुरमा भारी बोक्ने काम गर्ने माझी भन्छन्, “जे पाइन्छ, त्यही गरिन्थ्यो, अहिले त पेटभर्न पनि गाह्रो भइसक्यो ।” उनलाई अहिले जस्तो सकस कुनै बन्दमा भएको थिएन । दिउँसो दाताले दिएको खाना खाने अनि कतै पाटीतिर गएर सुत्ने दैनिकी बनेको छ ।

दैनिक भारी बोक्न पाउँदा उहाँजस्ता अनगिन्ति मजदूर औधी खुशी हुन्छन् । जति धेरै भारी पायो, उति धेरै खुशी हुने ज्यान अहिले भारी नपाउँदा आराम छैन बरु पीडा थपिएको छ । आराम धेरै हुँदा बेचैनी बढ्दैछ । रातमा राम्ररी निद्रा लाग्दैन । त्यसैले माझी भारी बोक्न पाउने समय पर्खिरहेका छन् ।

उनका अन्य साथीहरु भाइकाजी खत्री, रामबहादुर वाइबा, बाबुराम गुरुङ, प्रेम धिमालको दैनिकी पनि यसैगरी बितिरहेको छ । जीवन गुजारा गर्ने माध्यम नै टुटेपछि सहाराविहीन बनेका छन् । अहिलेसम्म सङ्घसंस्थाले खाना दिएको थियो । कतिपय स्थानीय तहले यसरी निःशुल्क खाना बाँड्न रोक लगाएको छ । सरकारले उनीहरुलाई स्थानीय तहको विकास निर्माणमा सहभागी गराउने निर्णय गरेको छ । त्यसमा पनि आफ्ना मान्छेलाई मात्र दिने होलान् भन्ने चिन्ता मजदुरको छ । “हामी जस्तो गरिबले न यसअघिको राहत पायो, न अब काम नै पाउँछौँ”, खत्रीले गुनासो गरे, “गरिबको कोही पनि छैन ।”

सरकारले यसअघि असङ्गठित क्षेत्रका मजदूरलाई राहत दिने निर्णयका विषयमा उनीसँग तीतो अनुभव छ । नागरिकता बोकेर स्थानीय तहमा गए पनि राहत पाएनन् । आफ्ना मान्छेलाई, घर भएकालाई, जिम्मा लिनेलाई मात्रै राहत दिन थालेपछि रित्तो हात फर्कनुपरेको अनुभव उनीसँग छ । भक्तपुरको शङ्खधर चोकमा भेटिएका खत्रीले मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सामुु नै दुखेसो पोखेका थिए ।

यसरी सडकमा आउने असङ्गठित मजदुर मात्रै छैनन् । शिक्षक, विद्यार्थी, अन्य सामान्य पेशा अपनाउने, साना व्यवसायी समेत छन् । व्यवसाय नचल्दा केही हप्ता त समस्या परेन । त्यसपछि विस्तारै खाने र बस्नेको अभाव हुन थाल्यो । कामको खोजीमा सडकलाई सहारा लिनुको विकल्प भएन ।

काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लवका सल्लाहकार राजन खनाल भने, “संस्थाले चलाएको भोजन सेवामा व्यवसायी, शिक्षाक विद्यार्थीसमेत नियमित खान आउनुहुन्छ, समस्यामा असङ्गठित मजदूरमा मात्रै छैन, त्यो भन्दा माथिल्लो वर्गमा समेत परेको छ ।” झण्डै दैनिक एक हजारले खानाखाँदै आएको मेस स्थानीय तहको निर्देशनले शनिबारबाट बन्द भएपछि यस्ता मजदुरलाई फेरि पेट भर्नकै समस्या हुँदैछ । राज्यले दिने भनेको काम तत्कालै उपलव्ध गराउनु जरुरी छ भन्छन्, खनाल ।

महामरीको सम्भावित सङ्क्रमणले गर्दा देश लकडाउनमा छ । यसका कारण निम्नबर्गीय मानिस प्रभावित भएका छन् । उनीहरु भोकै बस्नुपर्ने बाध्यता छ । नेपालको संविधान, २०७२ ले मौलिक हकमा नै खाद्य र आवासको व्यवस्था गरेको छ । संविधानको धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने व्यवस्था छ ।
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडा लकडाउन र सरकारको उपयुक्त रणनीतिका कारण कोभिड–१९ विरुद्धको सङ्घर्षमा मुलुकलाई सफलता मिलेको बताए । अहिलेको सरकारी योजना सही मार्गमा रहेको भन्दै पुनःजेठ ५ सम्मका लागि लकडाउन बढाइएको छ । सरकारले आर्थिक गतिविधिसमेत चलायमान बनाउन थालेको छ । सरकारको कामकाजमा यस्ता मजदूरहरुलाई रोजगारी दिने सरकारी निर्णय छ । सरकारले भने झैँ आर्थिक क्रियाकलाप हुन थाल्यो र काम पाइयो भने असङ्गठित क्षेत्रका मजदूरमा आशाको दियो बल्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद