सीमामा आवत-जावत रोक्न बैतडीमा निगरानी समूह गठन



बैतडि : लकडाउनको समयमा पनि भारतीय सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना भाइरस सङ्क्रमण फैलिने जोखिम बढ्को छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन्।

खुल्ला सिमानाका कारण महाकाली नदीमा ट्युबमार्फत तरेर सर्वसाधारण नेपाल भित्रिने क्रम जारी रहेको र नेपाल भित्रिने कतिपयले क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ।

सङ्क्रमणको जोखिम बढेपछि सीमाबाट आवतजावत रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ। बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैधरूपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन्।

कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिँदैछन् ।

निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्‍याउने काममा सहयोग गर्ने जनाएको छ।

दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। वडाध्यक्षको अगुवाइमा निगरानी समूह गठन गर्ने काम भइरहेको उनले बताए।

यस्तै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि निगरानी समूह गठन गर्न आग्रह गरिएको छ। लकडाउनको समयमा सीमानका बन्द रहेका बेला बैतडीमा अवैधरूपमा महाकाली नदीमा ट्युबमार्फत ६० जना भित्रिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी २४सै घण्टा परिचालन गरिएको भए पनि सुरक्षाकर्मीको आँखा छलेर चोर बाटो हुँदै नेपाल प्रवेश गरिरहेका हुन्।अवैधरूपमा नेपाल भित्रिने नागरिकले ट्युबको महङ्गो शुल्क तिरेर भित्रिरहेका हुन् । उनीहरुले भारतीय रुपैयाँ ५०० देखि दुई हजारसम्म तिर्ने गरेका बताउने गरेका छन्।

जिल्लास्थित भारतसँग सीमा जोडिएका विभिन्न छ स्थानमा चौकी स्थापना गरी यसअघि नै सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो। सशस्त्र प्रहरी सीमा क्षेत्रमा कडाइ गर्ने कार्य गरिररहेको छ।

यसका साथै अवैध वारपार रोक्ने तथा कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीसँग सीमा जोडिएको भारतको पिथौरागढमा लकडाउन केही खुकुलो भएपछि पिथौरागढ क्षेत्रमा रहेका नेपाली स्वदेश फर्कन लागेका हुन्। भारतले पिथौरागढ जिल्लालाई ग्रिनजोनमा राखेर लकडाउन खुकुलो पारेको जनाएको हो।

पिथौरागढलगायत भारतका विभिन्न जिल्लामा मजदुरी गर्दै आएका नेपाली अझै पनि स्वदेश भित्रिने तयारीमा रहेका छन्। यसअघि गत वैशाख १८ गतेमात्रै झुलाघाट नाका र धार्चुला नाकाबाट दुई हजार ५०० नागरिकको उद्धार गरिएको थियो। उद्धार गरिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

विश्वव्यापीरूपमा कोरोना भाइरस महामारीका रुपमा फैलँदै गएपछि गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिएको छ। लकडाउन अगामी जेठ ५ गतेसम्म कायम रहने जनाएको छ भने सीमानाका जेठ १८ गतेसम्म बन्द रहने सरकारले निर्णय गरिसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्