भेनेजुएला संकटमा अमेरिकालाई रुसको चेतावनी



मस्को : रुसले भेनेजुएलाको राजनीतिक विषयमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गरेको आराेप लगाएकाे छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक संकटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेका छन् ।

रुसी विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई मङ्गलबार फोन गरी भेनेजुएलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । याे जानकारी रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत दिएको हाे । 

रुसी विदेशमन्त्री लाभरोभले फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको मुद्दा बेहाेर्नुपर्ने चेतावनी पनि दिएका छन् । 

गत महिना विपक्षी नेता हुवाँ गुएइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको गुएइदाेको दाबी छ । राष्ट्रपति निकोलस मडुरोले आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्