अधिकृत खडकासहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

रसुवा भन्सार भइ भित्रिएको एउटा सामग्रीलाई अर्कै सामग्री भनी कम राजस्व तिर्न लगाएर भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा अख्तियारले बुधबार भन्सार अधिकृत खडकासमेतविरुद्ध मुद्दा दायर गरेको हो । 

रसुवा भन्सार कार्यालयका नायवसुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका व्यवस्थापक सुमन श्रेष्ठ, त्यस ट्रेडर्सका कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका व्यवस्थापक धनबहादुर तामाङ, नेपाल बंगादेश बैंकले गाडी पत्राचार गर्न भनेको व्यक्ति आकाश श्रेष्ठ, गाडी जिम्मा लिने व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठउपर अख्तियारले मुद्दा दायर गरेको हो । 

आरोपी आठै जनाउपर जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ विगो मागदावी लिइएको छ । विगो रकम असुलउपर गरी विगोबमोजिमकै जरिवाना गर्नुको साथै हदैसम्मको कैद सजायको मागदावीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 

गत मंसिर २४ गते रसुवा भन्सार भएर भित्रिएको चाइनीज महंगो जुत्ता लगायतका सामग्रीलाई कट्टु गन्जीको कम भन्सार राजस्व लिएर छाडिएको थियो । ठूलो कन्टेनरमा भित्रिएको त्यो सामग्रीसहितको गाडी राजस्व अनुसन्धान विभागले समातेको थियो । त्यसपछि विभागले तत्कालीन भन्सार अधिृकत खड्कासमेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको थियो । 

त्यसै विषयमा अख्तियारले छुट्टै अनुसन्धान गरी सरकारी राजस्व हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पाइएपछि सम्बद्ध व्यक्तिउपर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्