कोरोनाले रामनगरबासी त्रासमा, स्वास्थ्यकर्मी भने सुरक्षाकवचको आशमा



जनकपुरधाम: सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ की १८ बर्षीया युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

उनलाई कोरोनाको पुष्टि भएपछि रामनगरमा अहिले त्रासको वातावरण सिर्जना भएको छ । संक्रमित युवती बैशाख ७ गते काठमाडौंबाट आई गाउँमा रहेको र बैशाख २२ गते गाउँबाट मोटरसाइकलमा सवार भई फेरि काठमाडौं गएकी थिइन् ।

दुई वटा मोटरसाइकलमा उनका परिवारका चार जना काठमाडौं गएको भएपनि सो युवतीमा मात्र कोरोना पोजेटिभ पाइएको छ । ती युवतीका बुवाआमासमेत काठमाडौंमैं बस्ने गरेका छन् ।

उनलाई रामनगरमै कोरोना संक्रमण भयो वा काठमाडौं जाने बेला बाटोमा भयो कि काठमाडौंमै भयो भन्ने कुराको कुनै आधार छैन । रामनगर गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत रामपुकार महतोले भने,‘सो युवती गाउँमा करिव १५ दिनसम्म बसेकोले उनको सम्पर्क यस १५ दिनको अवधिमा धेरैजनासँग भएको हुन सक्ने भन्दै यहाँका स्थानीयहरु त्रासित बनेका छन् ।’

सुरक्षा कवच बिना नै काम
रामनगर गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु बिना कुनै सुरक्षा सामग्रीको काम गरिरहेका छन् । कोडिभ-१९ को लागि फ्रन्ट लाइनमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कपडाको मास्क प्रयोग गरेर फिवर क्लिनीक तथा हेल्थ डेस्कहरुमा खटिरहेका छन् ।

रामनगर गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्यचौकी खैरबामा ७ जना,वडा नम्बर ४ स्थित स्वास्थ्यचौकी बहुअर्बामा ६ जना,वडा नम्बर ६ स्थित स्वास्थ्यचौकी सिसौटमा ७ जना र वडा नम्बर ५ स्थित स्वास्थ्यचौकी गोरहियामामा ७ जना गरि जम्मा २७ जना अहेब,अनमि लगायतका स्वास्थ्यकर्मीहरुलाई कपडाको मास्क वित्तरण गरिएको छ । स्वास्थ्यचौकी सिसौटमा कार्यरत एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने,‘गाउँपालिका अध्यक्ष,प्रशासकिय अधिकृत र गाउँपालिका कार्यालयका अन्य कर्मचारीहरु आफै एन–९५ मास्क प्रयोग गर्छन तर हामीजस्ता फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कपडाको जाबी लगाएर फिल्डमा खट्नुपरिरहेको छ ।’

उनले भने,‘हामी फिवर क्लिनीक र हेल्थ डेस्कमा बसेर दैनिक ९० देखि १ सय जनासम्म व्यक्तिको चेकजाँच गर्छौं तर हामीलाई सुरक्षाकवचको नाममा कुनै सामान गाउँपालिकाले उपलब्ध गराएको छैन् । डराई डराई काम गर्नु परिरहेको छ । भोली आफै पनि संक्रमित हुने हो कि चिन्ताले सताईरहेको हुन्छ । तैपनि दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म जर्बजस्ती काम गराईन्छ ।’

उनी भन्छन्,‘ एकातर्फ सरकारले स्वास्थ्यकर्मीका लागि चाहिने अत्यावश्यकीय सुरक्षा सामग्री प्रदान गर्दैन अर्कोतर्फ उल्टै काममा नजानेलाई कारवाहीको चेतावनी दिन्छ । यो कहाँको न्याय हो ?’

अध्यक्षको आफ्नै ताला,मास्कको नाममा १५ लाखको घोटाला
रामनगर गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री खरिदको नाममा १५ लाख रुपैयाँ खर्च गरेको बताईएको छ ।

निमित्त प्रशासकिय अधिकृत रामपुकार महतोका अनुसार स्वास्थ्यकर्मीका लागि गाउँपालिकाले १५ लाखको स्वास्थ्य सामग्री खरिद गरेको छ । उनले भने,‘उनीहरुका लागि आवश्यक मास्क,पीपीई,सेनिटाइजर,साबुन,बाल्टिन,मग,ग्यास चुल्हा लगायत १५ लाख रुपैयाँको सामान हामीले खरिद गरेका छौं । तर स्वास्थ्यकर्मीहरु आफ्नै हेल्चक्रयाईंले पीपीई लगायतका साधनहरु प्रयोग गरिरहेका छैनन् ।’

सिमामा नाम मात्रको कडाई
सर्लाही जिल्लाको सिमानाकाहरुमा नाम मात्रको कडाई गरिएको स्थानीयले बताएका छन् । सिमानाकामा स्थानीय सरकारले सुरक्षाकर्मी खटाउन नसकेका कारण बाहिरबाट प्रवेश गर्नेहरुको संख्या बढेको स्थानीयहरु बताउ छन् ।

सुरक्षाकर्मी कम भएका कारण सिमाबाट बिनाजाँच भित्रिनेहरु बढेका हुन् । सिमा नाकाहरुमा सामान्य ज्वरोसमेत जाँच नगरी बाहिरबाट मानिसहरु भित्रिएको पाईएको छ । फितलो सुरक्षा व्यवस्थाका कारण सिमामा सुरक्षा कडाई गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् । यस जिल्लामा भारतको मुम्बर,पञ्जाब लगायतका ठाउँहरुबाट दैनिक सयौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका हुन्छन् तर स्थानीय प्रशासनले यसमाथि कुनै निगरानी गर्न सकेको छैन्,‘स्थानीय मुकेश झाले भने,‘क्वारेन्टाईमा आएर बसेकाहरु अधिकांश भारतबाट फर्केर आएका व्यक्तिहरु नै छन् ।’

बजारमा अहिलेसम्म पनि भीड
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेपनि सर्लाहीका स्वास्थ्य संस्थाको अगाडीमै लाग्ने तरकारी बजारमा अहिलेपनि सयौंको संख्यामा तरकारी खरिद गर्नेहरुको भीड हुने गरेको देखिन्छ ।

सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेको देखिन्छ । बजारमा साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको देखिदैन । अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारहरुमा उपभोक्ताको भीडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ । राती ८ ७ बजेसम्म निर्वाध रुपमा तरकारी खरिदका लागि सर्वसाधारण पुग्ने गरेकाले लकडाउन पूर्णरुपमा असफल झैं लाग्छ ।

गाउँपालिका अध्यक्ष कमिशनमै व्यस्त
देश महासंकटमा परेका बेलासमेत स्थानीय सरकार भ्रष्टाचारमा लिप्त रहेको एक स्थानीयले बताए । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्मा कोरोना भाइरससँग लड्न सबै इमान्दार हुनुपर्ने बेलामा समेत भ्रष्टाचार र अनियमिततामा डुब्नु दुर्भाग्यपूर्ण भएको स्थानीय मुकेश झाले बताएका छन् ।

कोरोनाविरुद्ध लड्न सारा नेपालीले सरकारलाई साथ दिएका छन, तर यहाँका अध्यक्ष भने कोरोनाको आडमा भ्रष्ट्राचारको प्लट तयार गर्दैछन्,उनले भने,‘यस्तो भ्रष्ट र निकम्मा अध्यक्षले समस्या पार लगाउन सक्दैन ।’ बिना कमिशनको हाम्रा अध्यक्ष ज्यू कुनै काम गर्दैनन् ।’ राहत वितरणको नाममा समेत अध्यक्ष बर्माले लाखौंको अनियमितता गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्