अघोषित लोडसेडिङ, तीन महिनादेखि अन्धकारमा 



सुर्खेत :  स्थानीय तह निर्वाचनका बेला देशभरिमै सबैभन्दा धेरै चर्चामा चन्दननाथ नगरपालिका आयो । दुई दशकपछि जनप्रतिनिधिहरु चुनिंदा देशमै पहिलोपटक महिला मेयर निर्वाचित भएपछि सञ्चारमाध्यमदेखि सबैतिर चन्दननाथ नगरपालिका र मेयर कान्तिका सेजुवालकै चर्चा थियो । 

पदभार ग्रहणलगत्तै राष्ट्रिय स्तरका मिडियाले ठूलो स्थान दिंदै प्राथमिकताका साथ अन्तर्वार्ता पनि लिए । मेयर सेजुवालले पनि एक/दुई वर्षमै नगरपालिकाको मुहार फेर्ने योजना सबैमाझ सार्वजनिक गरिन् । पहिलोपटक यति धेरै चर्चा कमाएकी नगरप्रमुखबाट सबैले ठूलै अपेक्षा राखेका थिए । तर निर्वाचन भएको दुईवर्ष पुग्न लाग्दासमेत नगरवासीले कुनै परिवर्तन देख्न सकेका छैनन् । 

‘सबैभन्दा हाम्रो ठूलो अपेक्षा भनेको नगरभित्र विद्युत सेवा नियमित होस् भन्ने नै थियो, स्मार्ट सिटी बनाउँछु भन्नुभएको थियो’ चन्दननाथ–१० का शिव देवकोटाले भने, ‘तर पहिले दुईदिनको एक पटक त विद्युत आउँथ्यो, अहिले तीन महिना भइसक्यो अँध्यारोमै बस्न थालेको, एक वर्षमा विद्युतमा सुधार आउन सकेको छैन, हामीले अब बाँकी एक वर्षमा स्मार्ट सिटीको कुरा कसरी पत्याउने ।’  

देशभरिकै नमूना सहर बनाउने लक्ष्य राखिए पनि अहिले जुम्ला सदरमुकाम अन्धकारमय बनेको छ । विगत तीन महिनादेखि विद्युत सेवा लगभग पूर्ण रुपमा बन्द छ । दुईदिनको एकपटक आउने विद्युत अहिले पाँच दिनमा एकपटक त्यो पनि आउने नआउने कुनै भरोसा छैन । टोलटोलमा विद्युत र इन्टरनेटको सेवा विस्तार गर्ने भन्ने नगरप्रमुखको भाषण मञ्चमै सीमित भएको छ । अहिले व्यक्तिगत काम मात्रै होइन, विद्युत व्याकअप नभएका सरकारी तथा गैरसरकारी कार्यालयहरु समेत प्रभावित भएका छन् । 

नागरिकले हप्तामा एकदिन विद्युत देख्न पाउँछन् । सरोकारवाला निकायले चासो नदिँदा साना जलविद्युत विकास समितिले मनोमानी गरिरहेको छ । लामो समयदेखि विद्युत नहुँदा व्यवसायी र नागरिक समाज मिलेर मैनबत्ती आन्दोलन समेत गरे । केही दिनअघि मैनबत्तीको आन्दोलनसहित प्रशासनमा पुगेका उनीहरुलाई समस्या बुझेर समाधानका लागि पहल थाल्ने आवश्वासन दिइएको छ । 

अबको एक हप्ताभित्र उपभोक्तालाई नियमित विद्युत सप्लाई नभएमा यसविरुद्ध पुनः युवा, विद्यार्थी, उद्योगी व्यापारी सहितको संयुक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । साना जलविद्युत उपभोक्ता समिति खलंगाको लापारवाही र बहानाका कारण उपभोक्ताले चरम लोडसेडिङको मार खेप्नुपरेको हो । नेपालस्थित भारतीय राजदूतावासको सहयोग पाएपछि नयाँ मेसिन जडान तथा खरिदको बहाना गर्दै समितिले विगत तीन महिनायता नत मेसिन जडान गर्न सकेको छ, नत उपभोक्तालाई विद्युत नै पठाउन सकेको छ । महिनौदेखि सदरमुकाम अँध्यारै हुँदा जिल्लाले करोडौको ब्यापार घाटा बेहोर्नुपरेको छ भने स्थानीयहरु टुकी, झरो तथा बैकल्पिक उर्जाको ब्यवस्था गर्न बाध्य छन् ।

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले भनिन्, ‘विद्युतबारे नत समितिनै गम्भिर देखिन्छ, नत जिल्ला प्रशासनको नै ।’ विद्युत समस्याले खलंगाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना सबै मारमा छन् । एसईई लगायत अन्य लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार बढी विद्यार्थीको अध्ययन कार्य प्रभावित भएको छ । उपभोक्तालाई विद्युत सप्लाई गर्ने आश्वासन दिएर समितिले झारो टार्ने काम गरिरहेको अधिकारकर्मी भगवती श्रेष्ठले बताइन् ।

‘विद्युत नबालेरै बिल तिर्न बाध्य छौ, विद्युतमा आर्थिक अनियमितता बढ्दो छ’ उपभोक्ता सीता बुढाले भनिन्, ‘उपभोक्ता हकमा खेलवाड गर्न पाईदैन, प्रशासन मौन भएर नबसोस् ।’ प्रशासनलाई चरम लोडसेडिङ अन्त्यको पहल गर्न उपभोक्ताको आग्रह छ । मेसिनमा आएको खराबीका कारण विद्युत सप्लाई गर्न नसकिएको बताउँदै आएको समितिका अध्यक्ष विष्णु बुढथापाप्रति छापाखाना लगायत पहुँचवालाको घरमा निरन्तर विद्युत आइरहेको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् ।

यसैबीच विद्युत नहुँदा उज्यालोका लागि बालिएको मैनबत्ती सल्किएर बुधबार राती खलंगामा एउटा घर जलेर खरानी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ–५ रामेश्वर आचार्यको दुईतले टिनले छाएको घर जलेर खरानी भएको हो । घरको अगाडि रहेको होटल ग्रीनल्याण्डमा उज्यालोका लागि जलाइएको मैनबत्ती सल्केर आगो लाग्दा पुरै घर चपेटामा पर्यो । आगालागीबाट २१ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्