कर्णाली सरकारको नेतृत्व एमालेले लिन्छ : शङ्कर पोखरेल



काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् । एमालेको सुर्खेत जिल्ला कमिटीको नवौँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यस पटक एमालेले पाउने बताएका हुन् ।

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठिक नभएको उनको भनाइ रहेको छ ।  उनले भने, ‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौँ भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ ।अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ- हामीले धेरै पटक नेतृत्व गर्‍यौँ कमरेड, अब एक पटक तपाईँहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौँ ।’

एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताए ।

‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनुभएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्विकार्नुपर्छ । र, स्वागत गर्नुपर्छ’, उनले भने ।

‘कर्णालीमा माओवादी साथीहरू आफ्नै नेतृत्वको निरन्तरताका लागि काठमाडौँ गएको कुरा सही हो भन्ने मलाई लाग्दैन । नेतृत्वका लागि एमाले, माओवादीका कमरेडहरू काठमाडौँ धाउनुपर्दैन । नेतृत्वले विवेक पुर्‍याउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्