बाँकेका कोरोना संक्रमितको शव डोजरले लगेर गाडियो



नेपालगन्ज: कोरोना भाइरसबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति बाँकेको नरैनापुर गाउँपालिका ५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरमा बोकेर अन्तिम संस्कार गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहान मृत्यु भएका ती युवकको शव राति साढे ९ बजेतिर राप्ती किनारमा लगेर गाडिएको हो ।

शव व्यवस्थापन गर्न गएका ७ जना सबैले पिपिईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी शव व्यवस्थापन गर्न गएका थिए ।

कोरोना भाइरसबाट कसैको ज्यान गए कसरी शव व्यवस्थापन गर्ने भनेर बाँकेमा टिम बनिसकेको थिएन । ती युवकको मृत्यु भएपछि प्रक्रिया पूरा नगरी एउटा टिम बनाएर शव व्यवस्थापन गरिएको हो ।

भगवानपुरको क्वारेन्टिन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएको हुँदा डोजरबाटै उठाएर शव लैजान सजिलो भएको थियो । एक किलोमिटर जति टाढा राप्ती नदीको किनारमा लगेर शव गाडिएको नरैनापुर गाउँपालिका ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले जानकारी दिए ।

शव व्यवस्थापनमा संलग्न नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक भानबहादुर बिसीले ७ फिट गहिरो खाडल खनेर शव गाडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्