यी हिरो हिरोइनले बदले प्रेमलाई बिहेमा



काठमाडौं : नेपाली अभियनय क्षेत्रका कलाकारको प्रेमजीवन कतिको सुखद छ भने कतिको छैन । प्रेम गरेर त्यसलाई विवाहमा परिणत गर्न फिल्म क्षेत्रको जोडीलाई सहज छैन । तर केही जोडीले यो सफलता प्राप्त गरेका छन् । यस्ता जोडीहरुमा राजेश हमाल–मधु भट्टराई, निखिल उप्रेती–सञ्चिता लुइटेल, सिताराम कट्टेल–कुञ्जना घिमिरे, वर्षा राउत–संजोग कोइराला, प्रियंका कार्की–आयुष्मान देशराज, आर्यन सिग्देल र सपना भण्डारीलगायत छन् ।

 

केही म्युजिक भिडियोमा मोडलिङ गरेकी मधु भट्टराईलाई नायक राजेश हमालले एक कार्यक्रममा निर्णायक हुँदा भेटेका थिए । सोही समयमा मधुसँग उनको मन साटिएको थियो । मधु र राजेश करिब ७ वर्षसम्म प्रेम सम्बन्धमा रहे । प्रेममा रमाइरहँदा उनीहरुको लभ–लाइफ मिडियामा सार्वजनिक कहिल्यै भएन । ७ वर्ष प्रेम गरेका उनीहरुले करिब ५ वर्ष अगाडि विवाह गरेका थिए । विवाहपछि नायक हमाल मधुसँगको घरायसी जीवनमा व्यस्त छन् ।

 

हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको प्रेम जीवन पनि निकै सुखद छ । सिरियल छायांकनको समयदेखि नै एकअर्कालाई मन पराएको यो जोडीले केही वर्ष प्रेम गरेर बिहे गर्यो  । बिहेपश्चात् यो जोडी समाजसेवामा बढी सक्रिय छ । उनीहरुले केही फिल्ममा अभिनय र केही फिल्म निर्माण गरेका छन् ।

 

नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइटेलको प्रेम फिल्म ‘माया त माया हो’ को छायांकन सेटमा सुरु भएको थियो । निखिल र सञ्चिता प्रेममा रहे पछि भागेर मुम्बई पुगे र उतै बिहे गरे । सो समयमा निखिलकी जेठी श्रीमती कोपिला नेपालमै थिइन् । सञ्चितासँग करिब ५ वर्ष मुम्बईमा बसेर नेपाल आएका निखिल अहिले फिल्म क्षेत्रमा सक्रिय छन् । निखिल र सञ्चिताको प्रेम केही वर्ष चल्यो अनि उनीहरुले बिहे गरे । यी दुवैको यो दोस्रो बिहे थियो ।

 

नायक आयुष्मान देशराज र नायिका प्रियंका कार्कीको प्रेम जीवन निकै रोमान्टिक छ । दुई वर्षअगाडि फिल्म ‘कथा काठमान्डु’ को सेटबाट फक्रिएको प्रेम बिहेमा परिणत हुँदैछ । यो जोडीले असारमा बिहे गर्दैछ भने उनीहरुको इन्गेजमेन्ट पनि भइसकेको छ । आयुष्मान र प्रियंका प्रेमको यात्रामा रमाउँदै गर्दा ‘आयंका फाउन्डेसन’ पनि खोलिसकेका छन् ।

 

फिल्म क्षेत्रको अर्को लोभलाग्दो जोडीको रुपमा वर्षा राउत र सन्जोग कोइरालालाई लिन सकिन्छ । सन्जोग र वर्षा एक फिल्मको कार्यक्रममा भेटिएका थिए । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका हुन् । करिब ७ वर्ष प्रेम सम्बन्धमा रमाएको यो जोडीले प्रेम दिवसकै दिनमा बिहे गरेको छ । वर्षा र सन्जोगको प्रेम कहिले पनि मिडियासँग लुकेन ।

 

नायक आर्यन सिग्देलकी फ्यान थिइन् सपना भण्डारी । उनै फ्यानसँग आर्यनले करिब ४ वर्ष प्रेम गरेका थिए । त्यसपछि उनीहरुले बिहे गरेका थिए । पाँच वर्षअगाडि बिहे गरेका उनीहरु सन्तान जन्माउने तयारीमा छन् । आर्यन र सपनाको प्रेम सम्बन्धलाई रोमान्टिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्