सरकारको एक वर्षे अवधि निराशाजनक : महत



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको हरेक दृष्टिकोणले असफल भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबर आयोजना गरेको साक्षात्कार कार्यक्रममा मा बोल्दै डा. महतले वर्तमान सरकारको एक वर्षे अवधिमा नेपाली जनता पूर्ण रुपमा निराश बनेको बताए । नारा राम्रा ल्याए पनि काम भने निराशाजनक मात्रै रहेको उनले बताए । 

सुखी नेपाली समृद्ध नेपालको अत्यन्तै राम्रो नारा सरकारले ल्याए पनि काम भने अत्यन्तै निराशाजनक रहेको उनले दावी गरे । ‘के नेपाली सुखी भए त? के नेपाल समृद्ध भयो त? त्यो बाटोमा नेपाल गयो त?’, नेता डा. महतले भने–‘मूल्यवृद्धि आकासिएको छ, व्यापार घाटा बढेको छ र लगानी घटेको छ । अहिले ५० प्रतिशत लगानी घट्यो। कर बढिरहेको छ। बैंकको व्याजदर बढिरहेको छ।’

उनले मुलुकमा संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए।  ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गर्दै महतले भने, ‘सुशासनको त कुरै नगरौं। सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गइसक्यो। चिनी काण्ड त्यस्तै। वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रूपमा हेरिरहेका छौं।’

यस्तै मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको पनि उनले आरोप लगाए । ‘उता बुढिगण्डकीको कथा पनि त्यस्तै छ। एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं’, महतले भने ।

सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको पनि उनले आरोप लगाए। ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्,’ महतले भने।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको आरोप लगाउँदै महतले भने, ‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो। हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’

एशिया प्यासिफिक समिट, भेनेजुएला प्रकरणमा पनि सरकारको लाचारी जनताले देखिसकेका महतले उल्लेख गरे ।  समिटमा सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले सरकारको आलोचना गरे।

 

प्रतिक्रिया दिनुहोस्