सुधारका कामलाई सरकारले तीव्रता दिएको छ : मन्त्री महासेठ



काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक विस्तार र सुधारका कामलाई सरकारले तीव्रता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सडक विस्तारका कामलाई प्रदेश र स्थानीयतहलाई पनि जिम्मा दिइएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा धेरै काम हुने स्पष्ट पारे ।  

सांसदले आ–आफ्नो क्षेत्रका सडक समस्यासँगै विभिन्न समसामयिक विषयमा सम्बन्धित मन्त्रीको जवाफ माग गरेका थिए । जवाफमा मन्त्री महासेठले धादिङ, नुवाकोट र रसुवा जोड्ने गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए । उनले ४ वर्षभित्रमा हिमाल, पहाड र तराईका मुख्य सहर तथा सबै स्थानीय तहलाई कालोपत्र सडकबाट जोड्ने सरकारको लक्ष्य रहेकाले लक्ष्यअनुरुप काम हुने विश्वास दिलाए ।  

उनले कलङ्की–नागढुङ्गा सडक निर्माण कार्य वर्तमान सरकार आउनुभन्दा पहिले नै विभिन्न अवरोध भएका कारण ढिलासुस्ती भएको उल्लेख गर्दै यसको काम छिटो बन्ने बताए । सरकारले सुर्खेत–जुम्ला सडकको सुधार, पूर्व पश्चिम हुलाकी मार्ग निर्माणलगायत विभिन्न सडकको निर्माणको कामलाई प्राथमिकतामा राखेको र अबका केही वर्षमा राम्रो परिणाम देखिने गरी काम सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । 

स्मार्ट लाइसेन्सका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले चार लाख कार्ड छापिएको जानकारी दिँदै बढीमा एक महिनाभित्र उपलब्ध गराउनुपर्ने गरी व्यवस्था मिलाएको जानकारी गराए । यसै गरी उनले २५३ भन्दा धेरै ट्याक्सीलाई कारबाही गरिसकेको जानकारी दिँदै जिपिएस राख्ने तयारीमा सरकार रहेको बताए । 

उनले भने, “यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरणको व्यवस्था गर्न लागेका छौँ यसका लागि सैद्धान्तिक सहमति पाइसकेका छौँ कानुन बनिरहेको छ पास हुने बित्तिकै काम हुन्छ ।” राष्ट्रियसभाको अर्को बैठक फागुन ८ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्