हत्या गरिएका युवकको १८ वर्षपछि अन्तिम संस्कार



बर्दिया: द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका-५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार गरिएको छ ।

पीडित परिवारले बुधबार थारु संस्कार अनुसार सद्गत गरेका हुन् । द्वन्द्वका समयमा हत्या भए पनि आफ्नै आँखाले शव नदेखेका कारण १८ वर्षसम्म अन्तिम संस्कार नगरिएको अनिलकी आमा लहियाले बताएकी छिन् ।

हत्या भएको भन्ने अरुबाट सुनेको र शव नदेखेका कारण जिउँदै छ कि भन्ने आशाले अहिलेसम्म बसिरहे पनि अब आशा मरेकाले अन्तिम संस्कार गरिएको अनिलका बुवा विक्रमबहादुरले बताए ।
अनिलकुमारलाई माओवादी कार्यकर्ता भएको भन्दै २०५९ पुस १४ गते राजापुर नगरपालिका–१० कालाबञ्जर गाउँबाट लखेट्दै आनन्दनगरमा पुर्याई कब्जामा लिएर गोली हानी शव सोही ठाउँमा गाडेको थियो ।

जिल्लामा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका केही व्यक्तिका परिवारले कानूनी समस्याका कारण पनि अन्तिम संस्कार गरेको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताए ।

द्वन्द्वपीडितले सत्यतथ्य पत्ता लगाउन माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी दिए पनि आयोगले समयमा काम गर्न नसक्दा अलमल भएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्