८ हजार ८९५ बेड क्षमताको २१५ क्वारेन्टाइनमा ६ हजार ९८ व्यक्ति



७ हजार २४२ को थ्रोट स्वाब परीक्षण गर्दा १३७ संक्रमित
जनकपुरधामः प्रदेश २ मा बिहीबारसम्म ७ हजार २ सय ४२ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ सय ३७ जना संक्रमित भएका छन् ।

स्वाब परिक्षण गरिएकाहरु मध्ये ५ हजार ३ सय ३५ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १ हजार ७ सय ७० जनाको रिपोर्ट आउन बाँकी छ ।

त्यस्तै,आरडीटी परीक्षण तर्फ ५ हजार ८ सय ४४ जनाको जाँच गरिएकोमा १२ जनाको पोजेटिभ र ५ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित मध्ये ९१ जना पर्साका,२२ जना रौतहटका,४ जना बाराका,८ जना धनुषाका,४ जना महोत्तरीका,६ जना सर्लाहीका,१ जना सिरहाका र १ जना सप्तरीका व्यक्ति छन् ।

पर्सा जिल्लामा पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ६३ जना पुरुष र ८ जना महिलाहरु गरी कुल ७१ जनाको नारायणी अस्पताल बीरगंज र १७ पुरुष र ८ महिला गरी कुल २५ जनाको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा १ महिला र ९ पुरुषगरी कुल १० जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्लामा रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा १ महिला र १७ पुरुषगरी कुल १८ जना कोरोना संक्रमितहरु बिरामीहरुको उपचार भइरहेको छ । त्यसैगरी बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा २ जना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ भने सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल र सिरहा जिल्लाको महेन्द्र गेनाई अस्पतालमा एक-एक जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।

त्यसैगरी सप्तरी जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ जना, सिरहा जिल्लाको महेन्द्र गेनाइ अस्पतालमा १ जना, बारा जिल्ला स्थित कलैया अस्पतालमा १ जना, बारा जिल्लास्थित जितपुर उपमहानगरपालिकामा रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना र पर्सा जिल्लास्थित पोखरिया अस्पतालमा १ जना गरी कुल १० जना कोरोना आशंकित बिरामीहरुको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस प्रदेशका संक्रमित १ सय ३७ मध्ये २ जना उपचार पश्चात नीको भई घर फर्किसकेका छन् भने उपचाररत रहेका बाँकी सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।

प्रदेश २ मा रहेको ८ हजार ८ सय ९५ बेड क्षमताको २ सय १५ वटा क्वारेन्टाइनमा हाल ६ हजार ९८ जनालाई राखिएको छ भने ५ हजार १ सय ७५ जना होम क्वारेन्टाइनमा छन् । बिभिन्न जिल्लामा निर्माण गरिएको ४ सय ५१ बेड क्षमताको आईसोलेशन वार्डमा १ सय ३८ जना व्यक्तिहरु उपचारको क्रममा रहेको सचिव घिमिरेले जानकारी दिए ।

यस प्रदेशमा जनकपुरस्थित प्रादेशिक अस्पतालमा ४२, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा ७०, बाराको कलैया अस्पतालमा ५०, महोत्तरीको जलेश्वर अस्पतालमा ५०, महेन्द्र गेनाइ अस्पताल सिरहामा ५०, रौतहटमा ६५ र सप्तरीमा ७७ बेडको आइसोलेशन कक्षहरु सञ्चालनमा रहेका छन् ।

त्यस्तै प्रदेश २ मा सप्तरीको वोदेबर्साइन नगरपालिकाको क्वारेन्टाईनलाई केन्द्र बनाएर सुरुंगा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका ,सिरहामा भगवानपुर नगरपालिका, धनुषामा कमला नगरपालिका,बटेश्वर गाउँपालिका, महोत्तरीको गौशाला नगरपालिका, औरही नगरपालिका र मनरासिस्वा नगरपालिका, रौतहटमा इशनाथ नगरपालिका, गौर नगरपालिका, परोहा नगरपालिका, गरुडा नगरपालिका र कटहरिया नगरपालिका, बारामा जिल्ला प्रशासन कार्यालय, पजरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका र पर्सामा नारायणी अस्पताल, छिपरमाई नगरपालिका तथा सखुवा प्रसौनी गाउँपालिका लगायतका स्थानहरुमा स्वाब संकलनको कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्