दुतियालाई बलात्कारपछि जलाएर हत्या गरिएको आशंका



ढल्केवर : धनुषाको मिथिला नगरपालिका–३ मरलाधारस्थित मगरटोलमा डढेको अवस्थामा शव फेला परेको ११ वर्षीया बालिका दुतिया रसाइलीलाई बलात्कारपछि हत्या गरिएको आशंका अधिकारकर्मी महिलाहरूले गरेका छन् ।

बुवा देवनारायणसँग बुधबार साँझ छिमेकमा बिहाभोजमा सहभागी भएपछि नाचगान हेर्न त्यहीँ रोकिएकी दुतियाको शव बिहीबार बिहान १० बजे आधी भाग जलेको अवस्थामा फेला परेको थियो । घरदेखि करिब पाँच सय मिटर उत्तर उखु खेतमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

शव फेला पारेका एक व्यक्तिले घटनास्थास्थलको प्रकृतिका बारेमा दिएको बयानबाट दुतियाको बलात्कारपछि हत्या भएको एक अधिकारकर्मी महिलाले बताइन् । उनले भनिन्, ‘घटनास्थलमा रगतका छिटा र शरीरका लुगा अस्वाभाविक अवस्थामा रहेको भेटिए । यसले बलात्कारपछि नै हत्या भएको आशंका गर्न कर लगाउँछ ।’

प्रहरीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने कोणले अनुसन्धान अघि बढाएको छ । मृतक बालिकाको यौनाङ्ग र रगतलाई डिएनए परीक्षणका लागि राजधानीस्थित विधिविज्ञान प्रयोगशालामा पठाएको छ । दुतियाको शव बिहीबार जनकपुर अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्या वा बलात्कारपछि हत्या भन्ने कुरा खुलेको छैन । ‘जलाएर बालिका हत्या भएको देखिन्छ तर हत्या कसरी भयो भन्ने कुरा पोस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ,’ इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले भने । प्रहरीले घटनाबारे अनुसन्धान गर्नेक्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएर छाडेको छ । घटनामा संलग्न भएको आधार नदेखिएपछि सोधपुछपछि नियन्त्रणमा लिइएकाहरूलाई छाडिएको हो । 

घरमा रेशमा नाउँ लिएर बोलाउने गरिएकी दुतिया हत्याकाण्ड निर्मला प्रकरणभन्दा पनि बढी अमानवीय र जघन्य भएको भन्दै अधिकारकर्मी महिलाहरूले घटनाको शीघ्र तथा निष्पक्ष अनुसन्धानका लागि प्रहरीमाथि दबाब बढाउने भएका छन् । 

ओरेक नेपालकी बिना कडारी र महिला सञ्जाल प्रतिनिधि कल्पना कडारीलगायत विभिन्न संघसंस्थाका अधिकारकर्मी महिलाहरूले मृतक बालिकाको आफन्तलाई भेटेर अपराधीलाई यथाशीघ्र्र पक्राउ गरी कडा कारबाहीका लागि प्रहरीप्रशासनउपर दबाब सिजर्ना गर्ने बताए । 

शनिबार दुतिया हत्या विरोधमा प्रदर्शन गर्ने र आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा र मिथिला नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरिएको अधिकारीकर्मी बिनाले बताइन् ।  

प्रतिक्रिया दिनुहोस्