घरेलु राजनीतिमा हजारौँ विमती होलान तर राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँ : नेता पौडेल



काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधैं सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेको बताएका छन् ।

कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिँदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताएका छन् । उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधैँ सरकारको साथमा रहेको उल्लेख समेत गरे ।

‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं । सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं ।’ ट्वीटमा उनले लेखका छन्–‘केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ । मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।’

केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति आपत्ति प्रकट गरेका छन् । साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै अझै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्