जनकपुर र राजविराजका लागि ल्याइयो रियल टाईम पिसिआर, सोमबारदेखि सञ्चालन गरिने



जनकपुरधामः कोरोना महामारी रोकथाम,नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले जनकपुर र राजविराजका लागि २ थान रियल टाईम पिसिआर मेसिन खरिद गरेर ल्याएको छ ।

मन्त्री परिषदको बैठकले जनकपुर,वीरगञ्ज र राजविराजमा परीक्षण ल्याव सञ्चालन गर्ने निर्णय गरिए अनुरुप जनकपुर र राजविराजको लागि पिसिआर मेसिन खरिद गरिएको हो ।

उक्त मेसिन जनकपुरधामस्थित पशुपंछी रोग अन्वेशन प्रयोगशालामा तथा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जडान गरि सञ्चालन गरिने छ । दुबै ठाँउको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भईसकेको छ। अगामी सोमवारदेखि दुबै पिसिआर मेसिन सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख डाक्टर रामविनय साहले जानकारी दिए ।

उक्त मेसिनले ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने बताइएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पिसिआर मेसिन जडान भई यसअघि नै सञ्चालनमा आइसकेको छ।
त्यसैगरी प्रदेश २ सरकारले उपचार तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । वीरगञ्जमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखी सञ्चालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्