अब कहाँ छन् पँधेरा र ढुङ्गेधारा



 म्याग्दी : ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसको  जीवनपद्धतिसँग जोडिएका पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएका छन् । सहरीकरण र संरक्षण अभावमा  सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका पँधेरा र ढुंगेधारा दिनप्रतिदिन हराउँदै जान थालेका हुन् । 

बढ्दो जनसंख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका यस्ता संरचना भत्काइनुका साथै संरक्षण र जीर्णोद्धार अभावमा पुरिएपछि अहिले गाउँघरमा पँधेरा र ढुङ्गेधारा देखिन छाडेको बेनी नगरपालिका–२ बिमिराबोटका नारायण शर्माले बताए ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुंगेधाराको उपयोगमा पनि कमी आएको स्थानीयले बताए । अव्यवस्थित रूपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय पँधेरा र ढुंगेधारा पुरिएको बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए ।

म्याग्दीको ग्रामीण भेगका कैयौं पँधेरा र ढुङ्गेधारा लोप भैसकेको र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराको संरक्षण गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्ने म्याग्दीको इतिहास र संस्कतिका अध्येता कृष्णबहादुर बानियाँले बताए ।

ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाले बताए । ‘उकालीओराली गर्दा आँत हरर्र हुन्थ्यो,’ बेनपा–२ का ८६ वर्षीय भीमप्रसाद शर्मा (सापकोटा) ले भने, ‘त्यतिबेला अञ्जुली थापेर ढुङ्गेधाराको कलकल पानी पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला ?’ अब ‘गाउँ’ गाउँजस्तै नरहेको र मौलिकता नै हराएर जाँदा कुरूप बनेको स्थानीय बूढापाकाको भनाइ छ । ‘न गाउँ गाउँजस्तो रह्यो न त सहरको सुविधा नै गाउँलेले पाउन सके,’ धौलागिरी गाउँपालिकाको ताकमका ७६ वर्षीय बुद्धिप्रसाद सुवेदीले भने, ‘सम्पदा नासिए, संस्कृति मासिए, गाउँ अधकल्चोजस्तो भयो ।’ 

साहित्यकार सुवेदीले पानीपँधेरो र ढुङ्गेधारासँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको बताउँदै ग्रामीण सभ्यताको सुरुवात नै यस्तै सम्पदाबाट भएको बताए । दुई दशकअघिसम्म ग्रामीण महिलाका लागि पानीपँधेरो नै दुःखसुख साट्ने र पीरव्यथा कहने एकमात्र माध्यम हुने गरेको बताउँदै उनले पँधेरा र ढुङ्गेधारा केवल पानीका स्रोतमात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतसमेत भएको उल्लेख गरे ।

 अहिले गाउँमा पँधेरा र ढुङ्गेधारामात्र होइन ढिकी, जाँतो, पानीघट्ट, ओखल र कोल पनि लोप भइसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरूप बनाउँदै लगेपछि गाउँवासीमा अपनत्व र भ्रातृत्वमा पनि कमी देखिँदै गएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेमा अहिले एकाकीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँले पनि व्यपारीजस्तै बबन्न थालेको स्थानीय बयोवृद्धहरूले बताए । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदा अतिक्रमित हुँदै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्