पहिलो पटक झुलाघाटमा सशस्त्र प्रहरीको ‘बिओपी’



बैतडीः नेपाल-भारत सीमानाकाको झुलाघाटमा पहिलो पटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० स्थापना भएको छ ।

सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उदघाटन गर्दै सीमामा निगरानी हुने बताए ।

सीमा निगरानी, राजश्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ । आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए ।

हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ । बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रुपान्तरण गरिने जनाइएको छ ।

पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले जनाएको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।

सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्याउने तयारी गरेको जनाइएको छ । नेपालतर्फको सीमानाकामा भारतको ५३० बिओपी रहेको बताइएको छ ।

नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्