नेपाल बार एसोसिएसनको अध्यक्षमा श्रेष्ठ र पोखरेल भिड्ने 



काठमाडौं :  नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनका लागि नेकपा र नेपाली कांग्रेस सम्बद्ध कानुन व्यवसायीको संगठनले उम्मेदवार चयन गरेका छन् । नेपाल बारको आगामी नेतृत्वका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । 

लामो समयको रस्साकस्सीपछि शनिबार राति उम्मेदवार चयन गरिएको छ । नेकपासम्बद्ध नेपाल लयर्स  एसोसिएसन (एनएलए) र कांग्रेससम्बद्ध डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले उम्मेदवारको टुंगो लगाएको हो । दुवै संगठनले आआफ्ना उम्मेदवार बलियो र लोकप्रीय रहेको दावी गरेका छन् ।

नेकपासम्बद्ध लयर्स एसोसिएसनले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् भने कांग्रेससम्बद्ध डीएलएले अधिवक्ता सुनीलकुमार पोखरेललाई उम्मेदवार बनाएको छ । श्रेष्ठ नेकपाभित्र माओवादीनिकट कानुन व्यवसायी हुन् । 

श्रेष्ठसँगै एनएलएले सुरेन्द्रबहादुर थापालाई महासचिवमा उम्मेदवार बनाएको छ भने डीएलएले पोखरेलको नेतृत्वमा लिलामणि पौडेललाई महासचिवमा उम्मेदवार बनाएको छ । दुवै संगठनले आइतबार छुट्टाछुट्टै कार्यक्रम गरी उम्मेदवार सार्वजनिक गर्दैछ । 

डीएलएका पोखरेल एक कार्यकालअघि नेपाल बारका महासचिव थिए । तीन वर्ष नबित्दै अध्यक्षको उम्मेदवार हुने पोखरेल डीएलएभित्रका भाग्यमानी व्यक्ति मानिन्छन् । यस्तै महासचिवका उम्मेदवार पौडेल डीएलएका पूर्वमहासचिव हुन् ।

नेपाल बारको अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक÷एक पदका लागि निर्वाचन हुँदैछ भने खुला महिला गरी उपाध्यक्ष आठ, र विभिन्न आरक्षणसहित १४ सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ । आगामी चैत १६गते हुने निर्वाचनमा देशभरिका कानुन व्यवसायी सहभागी हुनेछन् ।

डीएलका अध्यक्ष अधिवक्ता योगेन्द्र अधिकारीले पोखरेलको नेतृत्वमा सशक्त उम्मेदवारको समूह चुनावी मैदानमा उतारेको दावी गरे । युवाको काँधमा बारको नेतृत्व जानुपर्छ आम कानुन व्यवसायीको भावनालाई ध्यानमा राखेर अध्यक्षमा पोखरेल र महासचिवमा पौडेललाई चयन गरिएको बताउँदै अधिकारीले आसन्न निर्वाचनमा पुरै प्यानल डीएलए आउने दावी गरे । 

एनएलएका अध्यक्ष रुद्र नेपालले अत्यन्त अनुभवी, योग्य र वरिष्ठ अधिवक्ता श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको बताउँदै बारको नेतृत्व एनएलएकै हुने दावी गरे । उम्मेदवार चयनले निर्वाचन एनएलएको पक्षमा हुने उनले विश्वास व्यक्त गरे । 

डीएलएबाट वरिष्ठ अधिवक्ताहरु माधव बाँस्कोटा र यदुनाथ खनाल अध्यक्षका लागि आकांक्षी थिए । गत निर्वाचनमा यी दुवैजनालाई यसपटक उम्मेदवार बनाउने आश्वासन दिइएको थियो । तर डीएलएले दुवै वरिष्ठ अधिवक्तालाई छाडेर अधिवक्ता पोखरेललाई उम्मेदवार बनाएको छ । बाँस्कोटालाई डीएलएले पटकपटक धोका दिएकोले त्यो समूह असन्तुष्ट रहेको बताइएको छ । 

उता एनएलएबाट पनि वरिष्ठ अधिवक्ताहरु हरिप्रसाद उप्रेती र रमणकुमार श्रेष्ठ अध्यक्षका आकांक्षी थिए । तर उनीहरुलाई पनि उम्मेदवार नबनाएर श्रेष्ठलाई बनाएपछि पूर्वएमाले खेमाका उप्रेती र पूर्वमाओवादी रमण असन्तुष्ट छन् । पूर्वमहान्यायाधिवक्ता रहेका रमणको कानुन व्यवसायीमाझ राम्रो  पकड छ । 

  

प्रतिक्रिया दिनुहोस्