थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय नाघ्यो



काठमाडौं : थप १९ जनामा कोरोना पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।  यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्