वीरगन्जमा १८ जना कोरोना संक्रमित उपचार पछि घर फर्किए



वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित १८ जनालाई डिस्चार्ज गरिएको छ ।

वीरगन्ज ३ छपकैयाका एकै परिवारको पटक–पटक गरि चार पटक सम्म पीसीआर रिपोर्ट निगेटिभ आएको र उनीहरूको उपचार पुर्ण रुपले सफल भएपछि आइतबार राती करिब एघार बजे प्रक्रिया पुर्याएर डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

गत बैशाख २१ गते ३६ बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । र उनकै परिवारका १० पुरुष र ७ महिला गरि १७ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको थियो ।

२४ गते उनीहरूको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ भेटिएपछि १७ आंै जनालाई अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

डिस्चार्ज हुने १७ जना मध्ये २ र ६ महिनाका दुई शिशु रहेका छन्। त्यस्तै ३ वर्ष, ९ वर्ष, १२ वर्ष, १३ वर्ष र १४ वर्षका पाँच बालबालिका छन् । बाँकी ३५ देखि ६६ वर्षसम्मका १० जना महिला र पुरुष रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट उपाध्यायले बताए ।

२ महिनाको शिशु देखि लिएर ६६ बर्षको वृद्धले कोरोना सगको लडाइमा जित नै हासिल गर्न सफल भएका हुन् । मुस्लिम समुदायका रहेका एक्कै परिवारका सदस्यहरु आफ्नो महानपर्व इद उल फित्र ( इद ) पर्वको पुर्व सन्ध्यामा डिस्चार्ज हुन पाउँदा हर्षित नै बनेका थिए ।

१८ जना डिस्चार्ज भए लगतै कोरोना संक्रमितको संख्या ७२ बाँकी रहेको छ । नारायणी अस्पतालमा ४४ जना सक्रमित रहेका छन् भने गण्डक अस्पतालमा २८ जना संक्रमितलाई राखेर उपचार भइ रहेको छ । उनीहरूको स्वास्थ अवस्था समान्य रहेकोले पीसीआर रिपोर्ट निगेटिभ आउना साथ क्रमिक रुपमा डिस्चार्ज गर्दै जाने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्