धनुषामा ३ कोरोना संक्रमितमध्ये दुई प्रहरी, एकजना भारतबाट आएका थिए



जनकपुरधामः धनुषामा सोमबार तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ जना कोरोना पुष्टी भएकाहरुमध्ये दुई जना प्रहरी जवान रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) बिहान प्रेस विज्ञप्ति जारी गर्दै धनुषाका तीन सहित थप ७२ जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेको थियो ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर–५ गंगुलीमा रहेको क्वारेन्टाइनमा रहेका ३ जना प्रहरी र एक जना स्थानीय रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । संक्रमित प्रहरीहरुमध्ये एकजना असई (४५ बर्षिय) र एक जना जवान (३१ बर्षिय) रहेका छन् ।

ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत ती प्रहरीहरू क्वारेन्टाइनमा नै ड्युटी गरेर प्रहरी चौकीमा फर्किने गरेका थिए । तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन् ।

कोरोनाबाट संक्रमित दूई जना प्रहरी क्वारेन्टाइनको सुुरक्षार्थ खटिएका थिए भने अर्का एक जना संक्रमित पुरुष (३० बर्षिय) भारतको दिल्लीबाट जेठ ६ गते आएकोे बताइएको छ । उनी जेठ ६ गते भारतबाट फर्किए लगत्तै आफ्नो घर नगई क्वारेन्टाइनमा गएका थिए ।

गंगुुलीस्थित क्वारेन्टाइनमा रहेकाहरु मध्येबाट संक्रमित हुनेहरु बढ्दै गएपछि अहिले क्वारेन्टाइन सील गरिएको छ । यसअघि सोही क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ भने सोमबार थप ३ जनामा कोरोना पुष्टी भएसंगै कुल ८ जनामा त्यहाँ कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै धनुषामा संक्रमितको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्