बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’का सञ्चालक



काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

सोमबार थपिएका ७२ कोरोना संक्रमितमध्ये काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् ।

नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्याउँथे ।

‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं । उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’मेयर खरेलले भने ।

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

यता उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी शुरु गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्