प्रदेश नं २ मा कोरोना संक्रमित बढ्दै



काठमाडौंः प्रदेश नं.२ मा कोरोना संक्रमितको संख्या २३२ पुगेको छ ।

यस प्रदेशमा आइतबारसम्ममा १७८ जना संक्रमित रहेकामा आज बिहान ५४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको उल्लेख छ ।

यस प्रदेशका चार जिल्ला रौतहट, बारा, सप्तरी र धनुषामा गरी ५४ जना नयाँ संक्रमित समावेश छ । सोमध्ये रौतहटको राजपुर फरहदवाको २, ६, ८ र ९ वडाका साथै इशनाथपुर–२का गरी १८ देखि ५३ वर्ष उमेरका २६ जना नयाँ संक्रमित छन् ।

उनीहरुको स्वाबको नमूनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो । रौतहटमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

बाराको कलैया नगरपालिका-१को कोटवासीका २५ र ३२ वर्षका दुईजना थपिएका छन् । उनीहरुको पनि टेकुस्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो । यसका साथै किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र, हेटौंडामा गरिएको परीक्षणमा बाराका गढीमाई नगरपालिकाका १८ वर्षदेखि ५० वर्ष उमेरका २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यी दुवै नगरपालिकाका २३ जनासमेत गरी यस जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ । धनुषाको नगराइन नगरपालिकाका ३०, ३१ र ४५ वर्षका तीनजना गरी अब धनुषामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

उनीहरुको स्वाबको परीक्षण टेकुस्थित प्रयोगशालामा भएको थियो । यसका साथै, सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २२ र २४ वर्षका दुईजना थपिएको हो । दुवैको स्वाबको परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको थियो । सप्तरीमा संक्रमितको संख्या चार पुगेको छ । त्यस्तै सिरहामा एक, महोत्तरीमा चार, सर्लाहीमा ३४ र पर्सामा ९३ जना संक्रमित रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्