मुख्यमन्त्री राउतद्धारा वीरगन्जको नारायणी अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण



वीरगन्ज– कोरोना भाइरसको परीक्षण परिक्षण तथा उपचारका लागी प्रदेश सरकारले नारायणी अस्तपताललाई भिटिएम किट लगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवम खानानास्ता व्यवस्थापनको लागी २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

वीरगन्ज स्थित मुख्यमन्त्री निवासमा आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई अस्पतालको लागि चाहिने सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश सभा सदस्यहरूले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री एवम चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले नारायणी अस्पताललाई स्वास्थ्य सामगीहरु भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पीपीई ३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान प्रदान गरेको हो ।

मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि राम्रो व्यवास्थापन गर्ने उदेश्यले प्रदेश सरकारको निर्णय अनुसार २५ लाख रुपैयाको चेक समेत मेसु उपाध्यायलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मुख्य मन्त्री राउतले कोरोना नियन्त्रण तथा उपचारको लागी प्रदेश सरकारबाट हुने सबै सहयोगहरु जारी रहने प्रतिवद्धता जनाए ।

उनले कारोना रोगको नियन्त्रणका लागी परिक्षणलाई तिव्रता दिनु पर्ने बताउँदै अस्पताल तथा आइसोलेशनहरुमा आएका संक्रमितहरुको खाना तथा नास्ताको पोषण युक्त राम्रो व्यवस्थापन गर्न नारायणी अस्पतालका प्रमुख उपाध्यायलाई निर्देशन दिए ।

नारायणी अस्पताललाई चहिने सबै सहयोग प्रदेश सरकारले सक्दो प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने– ‘अस्पताल आएका सबैको उपचार राम्रोसंग होस, खाना नास्ता लगायत कुनै पनि प्रवन्धनमा कमि हुनु भएन, प्रदेश सरकार हर सम्भव तपाइ चिकित्सक कारोना योद्धाहरुको साथमा छ ।’

उनले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, विरगञ्ज र राजविराज बाट कोरोना परीक्षणको लागि पीसीआर मसिन जडान गरि सकेको र थप पीसीआर मेसिनको लागि पहल समेत भइरहेको बताए । विरामीहरूको संख्यामा वृद्धि भए पछि विरगन्ज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरिने उनले बताए ।

प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको र थप जनशक्ति पूर्ति गर्ने काम गरिसकेको बताए । उनले प्रदेशमा भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुको लागि नेपाली सेनाले संचालन गर्ने गरि विरगन्जमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५/५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भैसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्