नेशनल मेडिकलको चरम लापरबाही: अन्त्येष्टि पछि कोरोना रिपोर्ट, आईसियू भवन सिल



वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै मेडिकलको आईसियू कक्ष सिल गरिएको छ ।

जेष्ठ ४ गते संक्रमित बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका चौधरी थरका बृद्धको उपचारको क्रममा मेडिकल कलेजको आईसियू कक्षमा मृत्यु भएको थियो ।

घटनालाई ढाकछोप गरी मृतको शरीरलाई अन्त्येष्टि गर्न आफन्तको जिम्मा लगाई गम्भिर लापरवाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको नेतृत्वमा बसेको सुरक्षा समितिको टोलीले मेडिकल कलेजलाई कारवाही गर्न चार बुँदे निर्णय गरेका थिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले शंकास्पद बिरामीको पीसीआर रिपोर्ट नआउँदै मेडिकल कलेजले हतार हतारमा शव आफन्तको जिम्मा लगाएर चरम लापरवाही गरेको बताए ।

उनले भने– ‘रिपोर्ट नआउँदै हतारहतार गरेर शव किन आफन्तको जिम्मा लगाइयो, यो घटना किन लुकाइयो यस विषयमा सुरक्षा समितिको बसेको बैठकले मेडिकललाई कारवाही गर्न सम्बन्धीत निकायलाई सिफारिस गरेको छ ।’

मेडिकल कलेज विरुद्ध आवश्यक कारवाहीको लागि गृह मन्त्रालय तथा जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएको पनि उनले जानकारी दिए ।

यसका साथै संक्रमितको उपचार भएको आईसियु कक्षको पुरै विल्डीङ्गलाई सिल गरिएको छ । उपचारमा संलग्न चिकित्सक तथा नर्स लगायतलाई क्वारेन्टाईनमा राख्ने र मृतक परिवारका सदस्यको ट्रेसिङ्गको आधारमा सबैको पीसीआर परिक्षणको लागि स्वाब संकलन गर्ने निर्णय गरिएको उनले बताए ।

जेष्ठ २ गते क्षयरोग, दमा र निमोनियाबाट ग्रसित बृद्धलाई उनका आफन्तले मेडिकल कलेजमा ल्याएर भर्ना गराएका थिए ।

चौधरीको अवस्था चिन्ताजनक देखिएपछि आईसियु कक्षमा भेन्टिलेटरमा राखेर उनको उपचार भईरहेको थियो । उपचार गर्ने क्रममा कोरोना संक्रमणको आंशका लागेपछि नारायणी अस्पतालबाट गएको टोलीले पीसीआर परिक्षणको लागि स्वाबः संकलन गरेको थियो ।

चौधरीको उपचारको क्रममा जेष्ठ ४ गर्ने मृत्यु भएपछि मेडिकल व्यवस्थापकले पीसीआर रिपोर्ट नआउदै शवलाई आफन्तको जिम्मा लगाई दिए । र उनका आफन्तले त्यही दिन हिन्दुधार्मिक परम्परा अनुसार अन्त्येष्टि समेत गरिदिएका थिए ।

अन्त्येष्टि समेत गरिसकिएका बृद्धको आज १० दिनपछि पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको पुष्टि भएसँगै स्थानिय सुरक्षा समितिले कारवाहीको प्रकृया अगाडी बढाएको हो । मृतक वृद्धको पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै शव दाहसंस्कार भइसकेका कारण यहाँको स्थानीय प्रशासन र चिकित्सक तनावमा परेका छन् ।

नारायणी अस्पतालको प्रयोशगालाबाट रिकन्फमरेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पनि सोमबार पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर मदन उपाध्यायले पुष्टि गरे । मेडिकल कलेजबाट प्राप्त स्वाब नमूना नारायणी अस्पतालको प्रयोगशालामा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज नगरेको उनले बताए ।

‘रिपोर्टलाई रिकन्फमरेसनका लागि जेष्ठ ७ मा काठमाडौं पठायौं, उपाध्यायले भने– ‘काठमाडौंको ल्याबमा पनि लगातार २ पटकसम्म पोजिटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरेका हौँ ।’

आइसीयूमा राख्नुअघि कोरोनाको आशंकामा उनको स्वाब पीसीआर परीक्षणका लागि मेडिकल कलेजले नै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो । तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राती वृद्धको मृत्यु भएको थियो ।

नारायणीको प्रयोगशालमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको भन्दै कन्फरमेसनका लागि नारायणीले उक्त स्वाब जेठ ७ गते काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाएको थियो । तर काठमाडौंको रिपोर्ट आउन ढिला भएको भन्दै मेडिकल कलेजले जेष्ठ ४ गते राती शव आफन्तको जिम्मा लगाइ दिएको थियो । शव पठाएपछि मेडिकल कलेजले जेष्ठ ९ गते आइसीयु वार्ड फयुमिगेसन गर्नुपर्ने भन्दै ३ दिनसम्म आइसीयुमा नयाँ बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेको थियो ।

आइसीयू वार्डमा वृद्धको मृत्यु भएपछि त्यहाँ भर्ना रहेका करिब २० जना बिरामीलाई मेडिकल कलेजले आइसीयूबाट झिकेर कलेजकै अन्य वार्डमा स्थानान्तरण पनि गरेको स्रोतले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले रिपोर्ट पोजिटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताइन् । नारायणी अस्पतालका मेसु उपाध्यायले स्वाबको रिपोर्ट नआउँदै मृतकको शव अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाउँदा मेडिकल कलेजले अस्पताललाई कुनै जानकारी नदिएको बताए ।

यसमा सम्बन्धित कलेजको त्रुटी भएको भन्दै प्रहरी उपरिक्षक पन्तले भनिन्– ‘मृतक वृद्धको उपचारमा संलग्न मेडिकल कलेजका स्वास्थ्यकर्मी र मृतकका परिवारका सदस्य, अन्त्येष्टिमा संलग्न सबैलाई तत्कालै क्वारेन्टाइनमा राख्न भनिसकेको छु ।उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्ने तयारी गरिरहेका छौँ ।’

स्रोतका अनुसार नारायणी अस्पतालकै प्रयोगशालाबाट रिपोर्ट शंकास्पद देखिएको जानकारी आएपछि मृतकको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नेसनल मेडिकल कलेजमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मेडिकल अस्पताल प्रशासनको गम्भिर लापरवाहीले पर्सा जिल्लानै सन्त्रासमा छाएको छ ।

वीरगन्जको नारायणी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएदेखि नै सरकारले मेडिकल कलेजमा सरकारी सहुलियत दरमा उपचार गर्ने सम्झौता अनुसार पर्सा, बारा, रौतहट लगायतको जिल्लाबाट आएका विरामीहरु मेडिकलमै गएर उपचार गराउँदै आएका थिए ।

मेडिकल कलेजमै कोरोना संक्रमितको उपचारको क्रममले ज्यान गएको समाचार सार्वजनिक भएपछि अहिले पर्सा लगायतका जिल्लामा खैलाबैला मचिएको छ । सबै जना सन्त्रासमा बसीरहेका छन । समाजिक सञ्जालमा समेत मेडिकल कलेजको चौतर्फी आलोचना भईरहेको छ । कतिपयले त गम्भिर लापरवाही गर्ने मेडिकल कलेजमा सरकारले ताल्चा नै लगाएर कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्