ललितपुरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु



काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

बुधबार साँझ कोरोना भाइरसका कारण ललितपुरको किष्ट अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त व्यक्तिको कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्